बन्द हड्तालमा बालबालिकाको व्यापक प्रयोग,तत्काल रोक्न आयोगको आग्रह

0
862

मानव अधिकार आयोगले विरोध जुलुस, बन्द हड्तालमा बालबालिकाको व्यापक प्रयोग भएको भन्दै त्यसलाई तत्काल रोक्न आग्रह गरेको छ । ‘साउन ३० गते कर्णाली स्वायत्त प्रदेशको माग राख्दै जुम्लामा कलिला बालबालिकालाई अर्धनग्न अवस्थामा सडकमा उतारेर बन्द, हड्तालमा सहभागी गराएको’ भन्दै घटनाप्रति आयोगले आपत्ति प्रकट गरेको हो ।

‘धर्ना, विरोध प्रदर्शन, सभा लगायतमा बालबालिकाको प्रयोग गर्न नपाइने भनिएपनि बालबालिकाको प्रयोग पछिल्लो समय बढदै गएको पाइएको छ’ आयोगले आइतबार विज्ञप्ती जारी गर्दै भनेको छ,‘अर्धनग्न अवस्थामा शरीर भरी विभिन्न नारा लेखेर बालबालिकालाई सडकमा उतार्ने कार्य बालअधिकार विपरित भएकाले त्यस्तो कार्य नगराउन बन्दकर्ताहरुलाई आयोग आग्रह गर्दछ ।’

बालबालिकाको प्रयोग यस ढंगबाट नगर्न तथा विद्यालयहरु सुचारु गर्ने वातावरण निर्माण गर्न पनि आयोगले बन्धकर्ताहरुलाई भनेको छ । ‘बालबालिका शान्ति क्षेत्र हुन भन्ने विषयलाई दृष्टिगत नगरी बालबालिकालाई जथाभावी प्रयोग गर्नु निन्दनीय कार्य हो’ आयोगले भनेको छ,‘जुन सुकै बाहानामा जो कोहीले गर्ने बन्द, हड्ताल जस्ता कार्यक्रममा बालबालिकाको प्रयोग गर्नेमाथि आवश्यक कारबाही गर्न आयोग सरकारको ध्यानाकर्षण गराउँछ ।’ यसरी बालबालिकाको इच्छा विपरीत बन्द, हड्ताल जस्ता कार्यक्रममा बालबालिकाको प्रयोग गर्नु बालअधिकार सम्बन्धी महासन्धी तथा “बालबालिका सम्बन्धी ऐन, २०४८ को विपरित भएकाले त्यसो नगर्न आयोगले बन्दकर्ताहरुलाई सचेत समेत गराएको छ ।