काठमाडौ भदौ २७,साल्ट ट्रेडिङ कर्पोरेशनले ५६ र्औ वार्षिकोत्सव मनाएको छ ।कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले साल्ट ट्रेडिङ कर्पोरेशनले आफनो उदेश्य अनुसार अगाडी बढेको बताए ।उनले आगामी दिनमा पनि उपभोक्तालाई सुपथ मूल्यमा गुणस्तरीय उपभोग्य बस्तु उपलब्ध गराउने कार्यमा निरन्तर लाग्न निर्देशन दिए । मन्त्री यादवले बजारमा देखिएका मूल्य बृद्धि र कृतिम अभावका बेला साल्ट ट्रेडिङ कर्पोरेशनले उपभोक्तालाई पुरयाएको सेवा सरहानिय भएको बताए । कार्यक्रममा साल्ट ट्रेडिङ संचालक समितिका सदस्य नवराज ढकालले कर्पोरेशनले सरकारले तोकेको दायित्व सफलता पूर्वक निभाएको बताए । साल्ट ट्रेडिङका अध्यक्ष लक्ष्मीदास मानन्धरले साल्ट ट्रेडिङले संकटको समयमा पनि उपभोग्य बस्तुको आपूर्ती सहज रुपमा गराएर आफ्नो दयित्वलाई सफलता पूर्वक निर्वाह गरेको बताए ।सार्वजनिक निजी साझेदारीको नमूनाको रुपमा काम गर्दै आएको बताउदै संस्थाले बिभिन्न कठिनाईको सामना गर्दै एउटा सुनौलो इतिहास निर्माण गर्न सफल भएको अध्यक्ष मानन्धारको भनाई थियो ।
कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले नेपाल सरकारले तय गरेको निति नियम भित्र रही कर्पोरेशनले आपूर्ति र वितरण क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको बताईन् ।उनले राजनीतिक परिवर्तन संगै सबै प्रदेशलाई लक्षित गरी आफनो कार्य क्षेत्र र सेवा बिस्तार गर्दै जान थालेको बताउदै देशको अर्थतन्त्रमा कृषिको महत्त्व अंगीकार गर्दै बिक्री बितरण गर्दै आएको बताईन् ।यस्तै कर्पोरेशनले चार्डपर्वलाई लक्षित गरि सुपथ मुल्य पसल सञ्चालन गर्न लागेको जानकारी दिँदै श्रेष्ठले नूनमा २ रुपैयाँ र चीनीमा ५ रुपैयाँ छुटको व्यावस्था गरिने पनि बताइन् । यस्तै ५६ औ बार्षिक उत्सवको अवसरमा कर्पोरेशनले मानव समाज आश्रम चितवनलाई असहाय बालबालिकाको हितमा सक्रियतापूर्वक योगदान पुरयाएको भन्दै यस बर्षको बालहतिकारी पुरस्कार सहित नगद ७५ हजार सहित सम्मान गरेको छ भने कर्मचारीका छोरा छोरी मध्ये एस ई ई परीक्षामा उत्कृष्ट नम्बर ल्याउने छात्र तर्फ विवेक प्रसाईलाई र छात्रा तर्फ उत्कृष्ट अंक ल्याउने श्रीद्धा महर्जनलाई छात्रवृत्ति प्रदान गरेको छ । बार्षिक उत्सवका अवसरमा उत्कृष्ट सेवा प्रदान गर्ने कर्मचारीहरुलाई पनि उत्कृष्ट सेवा पुरस्कार प्रदान गरेको छ ।५६ औ बार्षिक उत्सवको अवसरमा कर्पोरेशनले रक्तदान कार्यक्रमको पनि आयोजना गरेको थियो ।