गौशाला, २८ भदौ महोत्तरीको इलाका प्रहरी कार्यालय रामगोपालपुरका प्रहरी इञ्चार्ज रामबाबु यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले पाँच हजार घुससहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार रामगोपालपुर इप्रका इञ्चार्ज प्रहरी नायब निरीक्षक रामबाबु यादवलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले पक्राउ गरेको हो । तस्करीका लागि भारतबाट लाइन मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस लिइरहेकै अवस्थामा यादव रङ्गेहात पक्राउ गरेका हुन् । उनलाई आवश्यक कारवाहीका लागि काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।