काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रमेश लेखकले कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार पछि हत्या प्रकरण बारे झुटो अभिव्यक्ति दिने प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताएका छन् ।
नेता लेखकले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर निर्मला पन्त हत्या प्रकरणलाई बंग्याएर अभिव्यक्ति दिएका प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्री प्रचण्डले सार्वजनिक रुपमा माफी माग्नु पर्ने बताएका हुन् ।उनको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै कांग्रेस नेता लेखकले फेसबुकमा गरेको पोष्ट यस्तो छ ।
प्रधानमन्त्री ओलीले केही दिनअघि ‘जनतासँग प्रधानमन्त्री’ नामक टिभी शोमा निर्मला पन्तको हत्या प्रकरणमा हुँदै नभएका कुराहरु जोडेर अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्री ओलीले अन्तर्वार्ताका क्रममा निर्मलाको शव पोष्टमार्टमपछि अन्तिम दाहसंस्कारका लागि लैजाने क्रममा भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टको घरको आँगनमा राखिएको, उच्चस्तरीय छानबिन समितिलाई अनुसन्धानमा बाधा पुर्याएको जस्ता विवादित झुटा अभिव्यक्ति दिएका थिए । त्यस्तै पूर्वप्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष प्रचण्डले बिहीबार महिला हिंसा सरकार र पार्टीलाई असफल गर्ने नियोजित षड्यन्त्र भइरहेको अभिव्यिक्ति दिएका थिए ।