भदौ २९ काठमाडौ । संसादबाट ‘जनस्वास्थ्य विधेयक, २०७५’ सर्वसम्मतिले पारित भएको छ ।विधेयक पारित गरियोस् भनी उपप्रधानमनत्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले प्रतिनिधिसभाको आजको बैठकमा उक्त प्रस्ताव पेश गर्नुभएको थियो । यस अघि मन्त्री यादवले ‘शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन सहितको जनस्वास्थ्य विधेयक, २०७५ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।छलफलमा सांसद प्रेम सुवालले मात्र भाग लिनुभयो । विधेयकका बारेमा पर्याप्त छलफल गर्ने समय नदिइएको उहाँले गुनासो गर्नुभयो ।
सांसदका प्रश्नको जवाफ दिनुहुँदै मन्त्री यादवले विधेयकमा सरकारी, सहकारी र गैर सरकारी संस्थाले सञ्चालन गर्ने स्वास्थ्य संस्थालाई व्यवस्थापन एवं नियमन गर्ने विषय समेटिएको बताउनुभयो । रोग लाग्नबाटै जोगाउने र लागिहालेमा उपचार गर्ने अधिकार सुनिश्चित गरिएको उहाँको भनाइ थियो । बैठकले विधेयकको दफा एकदेखि ६० सम्म समितिले गरेको संशोधनलाई अङ्ग बनाउने प्रस्ताव पनि स्वीकृत गरेको छ । यस्तै संसदबाट ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक, २०७५’ सर्वसम्मतिले पारित भएको छ । विधेयक पारित गरियोस् भनी उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले प्रतिनिधिसभाको आजको बैठकमा प्रस्ताव पेश गर्नुभएको थियो । यस अघि मन्त्री यादवले ‘शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहितको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक, २०७५ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
सांसद प्रेम सुवाल र दुर्गा पौडेलले छलफलमा भाग लिनुभएको थियो । उहाँहरुले गर्भपतनको अधिकार आमालाई हुनुपर्ने, एक वर्ष बिदा नलिनेले के गर्ने भन्ने व्यवस्था हुनुपर्नेलगायत विषयमा ध्यानाकर्षण गराउनुभएको थियो । समितिले संशोधन गरेको सो विधेयकको दफा एकदेखि १२ सम्मको संशोधनलाई अङ्ग बनाउने प्रस्ताव पनि सर्वसम्मतिले पारित भएको छ । यसैगरी विधेयकको दफा दुईदेखि ३७ सम्मका संशोधन पनि सर्वसम्मति पारित भएको छ । विधेयकको नाम र प्रस्तावना पनि सर्वसम्मतिले पारित भएको छ ।