जाजरकोट, ७ असोज । कुशे गाउँपालिकाले दरबन्दीविहीन विद्यालयमा अनुदानमा शिक्षक राख्न पहल शुरु गरेको छ । शिक्षण सिकाइ अनुदान शीर्षकमा एक करोड १८ लाख विनियोजन गरिएपछि सो गाउँपालिकाका नौ वटै वडामा शिक्षक राख्ने प्रक्रिया थालिएको छ । दरबन्दी नभएका विद्यालयमा शैक्षिक अवस्था खस्केपछि शैक्षिक जनशक्तिका लागि अनुदान उपलब्ध गराउने निर्णय गरेको अध्यक्ष गरेका छन् । गाउँपालिका क्षेत्र भित्रका मावि, निमावि र प्राविमा दरबन्दीका शिक्षक नहुँदा पढाइ प्रभावित भएको छ । अनुदान उपलब्ध गराएपछि शिक्षकको तलबका लागि स्थानीयवासीमा परेको भार कम भएको छ ।
अनुदान रकमबाट ८० शैक्षिक जनशक्ति भित्रिनुको साथै अनुदान रकमबाट माविमा ८, निमाविमा २५ र प्राविमा १८ शिक्षक नियुक्त गरिने अध्यक्षले जनाएका छन् । गाउँपालिकाले ३१ विद्यालयमा ५१ शिक्षकका लागि रु एक करोड तथा १७ बाल विकास केन्द्रका लागि बाल विकास शिक्षक र कार्यालय सहयोगीका लागि १७ लाख ९४ हजार उपलब्ध गराएको हो । मावि शिक्षकलाई २५ हजार, निमावि शिक्षकलाई १८ हजार र प्रावि शिक्षकलाई १५ हजारका दरले पारिश्रमिक उपलब्ध गराइने भएको छ । बाल विकास शिक्षकले ६ हजार र कार्यालय सहयोगीले तीन हजार का दरले मासिक पारिश्रमिक पाउने छन् । शिक्षण सिकाइ अनुदान आगामी चार वर्षसम्म निरन्तर वितरण गरिने भएको छ ।