इलामका किसानहरु अलैँचीको विकल्प खोज्दै ।

0
800

इलाम, १८ असोज । ‘खोल्सीको सुन’ उपनाम पाएको अलैँचीमा पछिल्लो समय रोग लागेपछि किसान यसको विकल्प खोज्न थालेका छन् । अलैँचीबाट पर्याप्त आम्दानी लिन थालेका बेला बगाननै मासिन थालेपछि किसान अन्योलमा परेका छन् । केही वर्षअघि पनि यस्तै सङ्क्रमण देखा परेपछि किसानले अलैँचीखेती नै छाडेका थिए । पर्याप्त आम्दानी लिइरहेका बेला रोग देखिएपछि अलैँचीको विकल्प खोज्नु परेको माइजोगमाई गाउँपालिका प्याङका स्थानीयले बताएका छन् । अलैँचीको फूलमा मकैको घोगाजस्तो देखिने समस्या आएको छ । अलैँचीमा दाना लाग्नुपर्नेमा कुहिन थालेको जनाएका छन् ।
सन्दकपुर गाउँपालिका सुलुबुङका किसानहरु पनि जुर्जरे र डढुवा रोगको सङ्क्रमणले अलैँची मासिँदै गएको बताएका छन् । जिल्लाका सबै क्षेत्रमा अलैँचीमा रोग देखा परेको छ । कतिपय ठाउँमा पुरानै जुर्जुरे, स्याङ्लेजस्ता रोगले अलैँची मासिँदै छ भने केही ठाउँमा अलैँचीको गानो कुहिने समस्या छ । अलैँची रोपाइँमा नै समस्या भएकाले पर्याप्त उत्पादन दिन नसकेको र कम समयमै मासिने गरेको कृषिविज्ञको भनाइ रहेको छ । उनका अनुसार पछिल्लो समय बारीमा अलैँची लगाउने गरेको र पानी बढी हुने हुनाले अलैँची मासिने गरेको छ । अलैँचीलाई सुख्खा बारी आवश्यक हुन्छ, बारीमा पानी बढी भएकाले अहिले रोग लागेको बताउँदै अहिले गानो कुहिने समस्या देखिएको जनाएक छन् ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्याङ्क अनुसार नेपालबाट विदेश निर्यात हुने वस्तुको सूचीमा अलैँची दोस्रो स्थानमा छ । नेपालबाट वर्षेनी साढे चार अर्बको अलैँची निर्यात भइरहेको तथ्याङ्क रहेको छ । केन्द्रका अनुसार सन् २०१७ मा नेपालबाट ७६ लाख ६० हजार ६ सय ७७ किलो अलैँची निकासी हुँदा चार अर्ब ५० करोड ६३ लाख आम्दानी भएको जानकारी दिएको छ ।