भक्तपुर ।असोज २० अनमोल बचत तथा ऋण सहकारी संस्था लिमिटेड सूर्यविनायककोे नवौं वार्षिक साधारणसभा शनिबार सूर्यबिनायक नगरपालिकाको नगर प्रमुख बासुदेव थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । कार्यक्रममा नगर प्रमुख थापाले अर्थतन्त्रको तीन खम्बामध्ये एक रहेको सहकारी खम्बालाई दिगो र मजवुद बनाई राख्न जरुरी रहेको बताउँदै बैंक तथा वित्तिय संस्थाहरु समेत पुग्न नसकेको गाउँ तथा वडाहरुमा सहकारीको पहुँच पुगेको बताए ।
नगर प्रमुख थापाले सहकारीको सिद्धान्त, मूल्य मान्यतालाई ध्यान दिएर सहकारी संस्थाले रोजगारीमूलक, उत्पादनमूलक, आयमूलक र व्यवसायमूलक क्षेत्रमा लगानी गरि युवा शक्तिलाई विभिन्न अवसरहरु दिई श्रम, सिप र दक्षता स्वदेशमा नै उपयोग गरी युवा शक्ति विदेशीने क्रमलाई केही हदसम्म रोक्न महत्वपूर्ण भुमिका खेलेको बताए ।
उनले सहकारी उत्थानका लागि नगरभित्र सञ्चालित सहकारीलाई सहयोग पुर्याउन २० लाखको कोष स्थापना गरिएको बताए ।उनले सहकारीको माध्यमबाट जनताको आयस्तर उकास्न अनमोल साकोस सफल हुँदै गएकोमा धन्यवाद दिए ।सूर्यबिनायक नगरपालिका वडा नं ८ का वडाध्यक्ष किरण थापाले सहकारी क्षेत्रमा देखिएको विकृति तथा विसंगति अन्त्य गर्न सबै लाग्नुपर्नेमा जोड दिदै धेरै ब्याज दिने नाममा आफ्ना संस्थामा सदस्य तान्ने होडबाजी चलेको भन्दै उनीहरुको लोभ लालचमा नफसी सचेत हुनुपर्ने बताए ।संस्थाका अध्यक्ष बच्चुुराम थापाले सबैको सहयोगले संस्था अहिलेसम्म नाफामा सञ्चालन भइरहेको बताए ।