बर्दिया राष्ट्रिय निकुञ्जको प्रवेशद्वारसँगै सत्खुलवा तालमा फूल हेर्न आउनेको घुइँचो ।

0
821

नेपालगञ्ज, २१ असोज । बर्दिया राष्ट्रिय निकुञ्जको प्रवेशद्वारसँगैको सत्खुलवा ताल लोप हुने अवस्थामा पुगेकोे रातो कमलको फूल हेर्न आउने पर्यटकको घुुइँचो लाग्न थालेको छ । वारबर्दिया नगरपालिकाका कार्यालयले निकुञ्जको प्रवेशद्वार उट्घाटन भएपछि त्यहाँ पर्यटकको घुइँचो लाग्न थालेको बताएका छन् । पर्यटक बढेकाले त्यहाँको माछापालन र सिँचाइका लागि उपयोगमा ल्याइएको नगरपालिका–९स्थित खैरनी गाउँको उक्त तालमा चार वर्षअगाडि माछाको ठेक्का रद्द गराई संरक्षण गर्न थालिएकामा अहिले पनि डुङ्गामा सयर गर्नेहरूको पनि घुइँचो लाग्ने गरेको स्थानीयले बताएका छन् ।

आन्तरिक तथा बाह्य पर्यटक डुङ्गामा सयर गर्दै तालमा पानी खान आउने जङ्गली जनावर अवलोकन गर्न पाउनु नै यस तालको मुख्य विशेषता हो । निकुञ्जभित्रका चुरेपहाडका सातवटा खोलाको पानी जम्मा भएर बनेकाले सत्खुलवा ताल भनिएको हो ।जैविक विविधताको दृष्टिकोणले महत्वपूर्ण रहेको उक्त तालको वारपार विश्वकै दुर्लभ पाटेबाघ, चितुवा, चित्तल, शालक, अजिङ्गरलगायत जङ्गली जनावर त्यहाँ पानी खान आउने गर्छन् । ताल संरक्षण समितिले २०७२ साल पुसदेखि तालमा घुम्नका लागि डुङ्गाको व्यवस्था गरेकाकाले हालसम्म करीब १० हजार आन्तरिक तथा बाह्य पर्यटकले तालको अवलोकनका साथै रातो कमलको फूलको सुगन्धसमेत लिने गरेको ताल संरक्षण समितिले जनाएको छ । उक्त समितिले तालमा प्रवेश गर्नेसँग रु दश र डुङ्गा चढे्नेसँग २५ शुल्क लिने गरेको छ ।

भर्खर संरक्षण गर्न थालिएको सो तालको आसपास रैथाने तथा आगन्तुक चराका साथै जङ्गली जनावरको सङ्ख्या बढ्दै गएको र पर्यटक पनि बढ्दै गएको संरक्षणकर्मीले बताएका छन् । बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण समितिका अनुसार उक्त ताल जैविक विविधताका हिसाबले पनि महत्वपूर्ण ताल रहेकाले अहिले त्यहाँ पर्यटकको घुइँचो लाग्ने गरेको बताएका छन । राजमार्ग नजीकै भएका कारण पनि बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटक यस सत्खलुवातालमा पनि घुम्न आउने गरेका छन् ।