नेकपाको सरकार सामाजिक फाँसीवाद उन्मुख ।

0
715

निरज अधिकारी
सबै भन्दा पहिले म संघिय र प्रदेश सभा निर्वाचनको समयलाई स्मरण गर्न चाहन्छु । नुवाकोट जिल्ला निर्वाचन क्षेत्र नं.१ मा तत्कालीन नेकपा एमालेबाट दुबै सदनका लागि उम्मेदवार रहेका नेताहरुको पक्षमा मत माग्दै घर दैलो गर्ने मध्ये म पनि एक हुँ । केही समय अघि मात्रै भएको स्थानिय निर्वाचनमा पार्टीले बहुमत ल्याउन सकेन भने यो निर्वाचनमा नुवाकोटका सबै निर्वाचन क्षेत्रबाट जित हासिल गर्ने सम्भावना र चुनौतीका बिषयमा उम्मेद्धार र कार्यकर्ताका बिचमा बिभिन्न खाले बिष्लेषण हुने गथ्र्यो ।

उम्मेद्धवारहरु भन्ने गर्थे पार्टीले अगाडी सारेको चुनावी एजेण्डा नै हाम्रो जित्ने आधार हो त्यसमाथि माओवादी सँगको एकताले जित सुनिष्चित छ भन्ने बिश्लेष्ण हुने गर्थो । राजनिती र निर्वाचनमा जे पनि हुन सक्छ भन्ने बुझाईका साथ हामी रात दिन बिभिन्न समुह बनाएर टोल टोलमा भोट माग्न हिंड्यौ । एमालेका नेता कार्यकर्ताको कडा मेहनतले जिल्लाका सबै उम्मेद्धवारलाई बिजयको बिल्ला भिरायौ । आम नागरिकको जस्तै हामी कार्यकर्ताको पनि धेरै आशा र भरोसा हाम्रा नेताहरु माथि थियो र छ पनि । त्यसकै परिणाम देशभर एमाले माओबादी गठबन्धनले जित हात पार्यो र श्रदेय अध्यक्ष के पी ओलीको नेतृत्वमा सरकार बन्यो ।

त्यस पछि आम नागरीकले आश गरे जस्तै पार्टीका नेता कार्यकर्ताले पनि देशको बिकास र संबृद्धिको सुन्दर परिकल्पना गरे तर सरकार बनेको दिन देखि सात महिना पार भैसक्दा पनि जनताले अरु त के शान्ती सुरक्षा समेत पाएनन् । उल्टै हिट्लरले यहुदिहरुमाथि दमन गरे जस्तै सरकारले जनतामाथि दमन गर्न थाल्यो । सामाजिक सञ्जालमा आफ्ना भनाइहरु लेखेकै कारण जनता जेल जानु पर्ने दिन आयो । म नेकपा कै कार्यकर्ता बनेर ओली कम्रेडलाई प्रश्न गर्न चाहन्छु के हामीले यहि दिन देख्नका लागि कम्युनिष्टलाई तिजाएका हौ ? म गर्वका साथ भन्छु यो जनमतको अपमान हो । सार्वभौमसत्ता सम्पन्न जनताका लागि यो भन्दा ठूलो अपमान अरु हुनै सक्दैन । यो तपाईको अहंकारको परिणाम हो ।

बिश्व राजनितीक आन्दोलनका परिणाम एक पटक तपाइ आफै स्मरण गर्नुहोला । जनताले तपाईको एजेण्डालाई मत दिएका हुन तपाईलाई सर्वसत्तावादी बन्नका लागि मतदान गरेका होइनन् । प्रधानमन्त्री ज्यु टुडिखेलमा उभिएर जनतामाझ बोल्ने नैतिकता नगुमाउनु होला । तपाईकै कारण सिंगो दल मात्रै होइन हामी जस्ता भविष्य खोजीरहेका पुस्ताको समेत पतन हुने छ । यो सात महिनामा तपाई नेतृत्वको कुन मन्त्रीले के त्यस्तोकाम गर्यो जुन बिगतका सरकारले गर्न सकेको थिएन् ? तपाई र तपाईको सरकारका मन्त्रीले जनताको अपमान गर्ने बाहेक अरु केही गरेनन् भन्दा तितो लाग्ला यथार्थता यहि नै हो । दुई तिहाइको सरकार बन्यो अब पाँच बर्ष सम्म शासन गर्ने हो भन्दै मन्त्रीहरुले पैसा विना सिन्को भाच्दैनन् यो कुराको जानकारी छ की छैन ?

तपाईकै पार्टीका प्रभावशाली नेताले महत्वपुर्ण कामका सन्दर्भमा तपाईलाई भेट्न नपाउने गरी तपाईले सिंहदरवार र वालुटार बसेर देशको लागी के काम गर्नु भयो ? साउन १० गते कञ्चनपुरमा भएको बलात्कारका दोशी तपाईका को हुन् र कारबाही गर्न सक्नु भएन ? एउटा बलात्कारीलाई कारबाही गर्न नसक्ने गृहमन्त्री र प्रहरी नेतृत्वलाई किन कारबाही गर्न सक्नुभएन ? एउटा बलात्कारी समाउन नसक्ने सरकारले पानी जहाज र रेल कुदाउछ भन्दा हामीलाई लाज लाग्छ । संस्थागत रुपमा मौलाएको भ्रष्ट्राचारमा फसेका मन्त्रीहरुलाई किन भटाभट कारबाही गर्न सक्नु भएन् ? कि सामान्य विवादमा परेका शेरबहादुर तामाङ जस्तालाई मात्रै बलीको बोको बनाइरहने हो ? हामी नेकपाका कार्यकर्ता जान्न चाहन्छौ ।

तपाईको सरकारले सिण्डीकेट खारेज गर्यो भन्ने सुन्दा हामी दंग परेका थियौ जुन प्रचारका लागि मात्रै गरिएको रहेछ । सडकको दुरदश देख्दा हामी कार्यकर्ताले मुख देखाएर हिंड्नै नहुने भैसक्यो । यो त लाकतन्त्र हो लोकतन्त्रमा जनता बोल्ने र सरकारले सुन्ने हुनु पर्नेमा यहाँ त ठिक उल्टो भैरहेको छ जनताले बोल्नै नपाउने बोले भने समातेर थुन्ने, प्रधानमन्त्रीले जवाफ दिनु पर्नेमा खाउँला जस्तो गर्ने ? यस्तो परिपाटीलाई के कम्युनिष्ट के अरु दल कसैले पनि स्विकार्न सक्दैन । चाडवाडको समयमा मौलाएको महंगी र कालो बजारी नियन्त्रण गर्ने निकाय कमिसनमा डुबेको छ त्यसलाई तपाईले नै संरक्षण गर्नु भएको छ ।

सरकारकै बद्नाम हुने गरी काम नगर्ने ठेकेदारहरुलाई किन कारबाही हुँदैन ? दशैको मुखमै गाडी भाडामा १० प्रतिशत बढाइएको छ के यहि हो दुई तिहाईको सरकारको जनतालाई उपहार ? तपाईका कुनै पनि संयन्त्रले परिणाममुखि काम गरेको छैन । की बिकास र सम्बृद्धिको नाममा नागरिकले सबथोक स्विकार्नु पर्ने हो ? यदि हो भने यो तपाईको सामाजीक फाँसीबादी शासन ब्यबस्था हामी नेकपाका कार्यकताई चाहिंदैन हामीले यस्तो ब्यबस्थाका लागी तपाईलाई भोट दिएका होइनौ तपाईले नैतिकताका आधारमा राजिनामा गर्नुपर्छ । होइन भने तपाईलाई अझै पनि अन्तीम अवसर दिन सकिन्छ एक पटक सच्चिनको लागि । हामीलाई हिट्लरी प्रबृत्ति चाहिएको होइन जननेता चाहिएको हो । जुन अवसर तपाईको जिवनको अन्तीम हुने छ ।