अब प्रहरीलाई म्यासेज पठाएरै घटनाको जानकारी दिन सकिने ।

0
926

निमित्त प्रहरी महानिरीक्षक पुष्कर कार्कीको प्रमुख आतिथ्यमा नेपाल पुलिस क्लब भृकुटीमण्डपमा आइतबार आयोजित समारोहबीच १३औं महानगरीय प्रहरी दिवस २०७५ सम्पन्न भएको छ।

कार्यक्रममा निमित्त प्रहरी महानिरीक्षक कार्कीले महानगरीय प्रहरी कार्यालय अन्तर्गत रही विशिष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीहरुलाई प्रशंसापत्र प्रदान, प्रहरी कार्यमा विशेष सहयोग पुर्यााउने महानुभावहरुलाई कदरपत्र र नेपाल पुलिस स्कुल सामाखुसीमा अध्ययनरत छात्रछात्रालाई छात्रवृत्ति रकम वितरण गरे। साथै उनले उपत्यकामा नेपाल प्रहरीको आकस्मिक नम्वर १०० मा निःशुल्क एसएमएस गर्नसकिने सेवाको शुभारम्भ समेत गरे।

सो अवसरमा निमित्त प्रहरी महानिरीक्षक कार्कीले काठमाडौंलाई मेट्रो शहरको रुपमा विकास गर्ने र सेवा सुविधा तथा पूर्वाधार निर्माण गर्ने प्रमुख आधार भनेकै सुरक्षा भएकाले महानगरीय प्रहरीलाई विशेष अधिकार सम्पन्न बनाउनका लागि सरोकारवाला सम्पूर्ण निकायले सहयोग गर्नुपर्ने उल्लेख गरे।

समारोहमा शुभकामना मन्तव्य व्यक्त गर्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले महानगरीय प्रहरीले गर्दै आएको कार्य प्रशंसायोग्य रहेको चर्चा गर्दै महानगरीय प्रहरीसँग समन्वय गर्दै अगाडि बढ्न आफू तत्पर रहेको बताए।