काठमाडौं । मंसिर २१ गुणस्तरहीन काम गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री तथा कालिका कन्स्ट्रक्सनका मालिक विक्रम पाण्डेविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्ने तयारी गरेको छ ।
सिक्टा सिँचाइ आयोजनाको मूल नहर निर्माणमा गुणस्तरहीन काम गरी भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले सिटिसिई कालिका जेभीका प्रमुख पाण्डेविरुद्ध मुद्दा दर्ताको तयारी गरेको हो ।अख्तियारले गरेको छानबिनमा सिक्टा सिँचाइ आयोजनाको मूल नहर निर्माणमा भएको गुणस्तरहीन कामले राज्यलाई दुई अर्ब १३ करोड घाटा भएको पाइएको थियो ।
अख्तियारले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा ४ बमोजिम ठेकेदार पाण्डे र सिटिसिई कालिका जेभीका आधिकारिक प्रतिनिधि युवबहादुर क्षेत्रीबाट जनही ७८ करोड ४१ लाख ४१ हजार पाँच सय ९९ रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर गर्ने भएको छ ।सिक्टा सिँचाइ आयोजनाको मूल नहर सुचारु नहुँदै परीक्षणकै क्रममा भत्किएको थियो । नहरको करिब ३५ किमि कामै नलाग्ने गरी भत्किएको थियो ।
नहर निर्माणमा गुणस्तरलाई ध्यान नदिएको आशंकामा अख्तियारले छानबिन गर्दा ठेकेदार कम्पनी, परामर्शदाता कम्पनी र आयोजना हेर्ने कर्मचारीहरूको संलग्नतामा गुणस्तरहीन काम भएको भेटिएको हो ।अख्तियारले सिक्टा सिँचाइ आयोजनाका तत्कालीन आयोजना निर्देशक सरोजचन्द्र पण्डितविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गर्ने भएको छ ।
पण्डितले ठेकेदार कम्पनी र परामर्शदाता कम्पनीसँग मिलेमतो गरी सिक्टा आयोजनाको मूल नहर गुणस्तरहीन निर्माण गर्ने काममा सघाएको अख्तियारको ठहर छ ।भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा ३ बमोजिम कसुर गरेको ठहर गर्दै ५९ करोड ३४ लाख ५२ हजार बिगो मागदाबीसहित मुद्दा दायर गर्ने तयारी छ ।