मस्यौदा समिती द्धारा परिमार्जीत बिद्येयक सभाध्यक्ष समक्ष पेस , संबिधान निर्माणको ढोका खुलेको सभाध्यक्षको भनाई ।

0
515

भदौ ५ – संविधान मस्यौदा समितिले संविधानको परिमार्जित विधेयक शुक्रबार संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई बुझाएको छ ।

समितिका सभापति कृष्णप्रसाद सिटौलाले प्रमुख राजनीतिक दलबीच भएको सहमतिका आधारमा तयार गरिएको एकीकृत मस्यौदा शुक्रबार बेलुका संविधानसभा अध्यक्ष नेम्वाङलाई बुझाउनुभएको हो ।

समितिको बैठकले दलको सहमतिका आधारमा प्रदेशको संख्या सात रहने विषयलाई मस्यौदामा समावेश गरेको थियो । मस्यौदा समिति मातहतको कार्यदलले यसअघिका सबै सहमतिका विषयलाई समावेश गरेर प्रतिवेदन तयार पारिसकेको अवस्थामा दलबीच पछिल्लो पटक भएको सहमतिलाई थप गरेर मस्यौदालाई परिस्कृत गरिएको हो ।

परिमार्जित विधेयक बुझ्दै संविधानसभा अध्यक्ष नेम्वाङले अब संविधान बन्ने ठोस र अन्तिम आधार तयार भएको बताउनुभयो । ‘अब संविधान बन्यो, त्यसको ठोस र अन्तिम आधार समितिले बुझाएको अन्तिम परिमार्जित विधेयक हो, परिमार्जित विधेयकलाई आइतबारदेखि बस्ने संविधानसभा बैठकमा प्रस्तुत गरिनेछ, आइतबार सबै सभासद् र सञ्चारकर्मीको हातमा पु¥याइनेछ’ उहाँले भन्नुभयो ।

अध्यक्ष नेम्वाङले जस्तोसुकै अप्ठ्यारा आइपरे पनि संविधानसभामार्फत नागरिकको चाहनाअनुरूप संविधान बनाउँछौ भन्ने कुरा फेरि एक पटक प्रमाणित भएको उल्लेख गर्नुभयो । उहाँले मस्यौदाका कतिपय विषयमा दलहरूले फरक मत राखेर हिँडे पनि यसले अधिकतम नागरिकको भावना समेटेको र संविधान जारी हुने अन्तिम समयसम्म बढीभन्दा बढी जनताको भावनालाई समेट्ने प्रयास गरिने हुनाले संविधान निर्माण प्रक्रियामा एक जुट हुन असन्तुष्ट पक्षलाई आग्रह गर्नुभयो ।‘नेपालको संवैधानिक इतिहासमा नागरिकको सहभागिताद्वारा सबैभन्दा बढीको भावना समेटिएको संविधान बनाउने अन्तिम घडी आइपुगेको छ र संविधान जारी गरिने आधार तयार भएको छ’ उहाँले भन्नुभयो ।

मस्यौदा समितिका सभापति सिटौलाले संविधानसभाले दिएको पहिलो समयावधिमा सहमति जुट्न नसकेपछि फेरि समय थप मागी मेहनतका साथ मस्यौदालाई पूर्णता दिइएको बताउनुभयो ।

उहाँले नेपालको संविधान निर्माण गर्ने कार्य निकै लामो र जटिल प्रक्रिया भएको र सबै दल, सभासद र राजनीतिक समझदारीले यो अवस्था आएको हो भन्दै संविधानमा सबै दलको भावनालाई समेट्ने अधिकतम प्रयास गरिएकाले यसप्रति असन्तुष्ट जनाउने दललाई संविधान जारी गर्ने कार्यमा सक्रियता जनाउन आग्रह गर्नुभयो ।