आसन ग्रहण र भाषणको विषयलाई लिएर ओखलढुंगामा कांग्रेस नेताबीच कुटाकुट ।

0
1029

ओखलढुंगा, ८ माघ । नेविसंघको जिल्ला अधिवेशनको विषयलाई लिएर कांग्रेसका नेताबीच कुटाकुट भएको छ ।सोमबार बिहान ११ बजे नेविसंघको १२औं जिल्ला अधिवेशन उद्घाटनको कार्यक्रम थियो । अधिवेशनमा सहभागी हुन पार्टीका जिल्लास्थित अधिकांश नेता, कार्यकर्ता र नेविसंघका विद्यार्थी नेता कार्यक्रमस्थलमा पुगेका थिए ।अधिवेशन सुरु हुनुअघि कार्यक्रममा आसन र भाषण गर्न कसलाई दिने वा नदिने भन्ने विषयमा विवाद भएको थियो । पार्टी सभापति शेरबहादुर देउवा पक्षले चुनावका बेला पार्टीलाई अन्तरघात गरेको आरोप लागेका नेतालाई आसनग्रहण नगराउने बताएको थियो भने रामचन्द्र पौडेल पक्षधरले सबैलाई समेटेर जान भनिरहेको थियो ।

विवादकैबीच नेविसंघका जिल्ला अध्यक्ष प्रदीप बानियाँले औपचारिक कार्यक्रम सुरु गर्न निर्देशन दिए । जिल्ला समन्वय समितिको सभाकक्षमा अधिवेशनको औपचारिक कार्यक्रम सुरु भएलगत्तै कार्यक्रम रोक्न माग गर्दै बाहिर रहेका नेता–कार्यकर्ताले चर्को नारा लगाए ।केन्द्रीय प्रतिनिधिलाईसमेत बाहिर राखेर गरिएको अधिवेशन मान्य नहुने पौडेल पक्षधरको माग थियो । जिल्ला सभापति प्रदीप सुनुवारको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टीले कारबाहीका लागि सिफारिस गरिएको भनिएका नेताहरुलाई प्रवेश गर्न दिइएको थिएन ।

नाराबाजी गर्दै कार्यक्रमस्थल पुगेका पौडेल पक्षधर नेताले जबर्जस्ती कार्यक्रम रोक्न माग गरेपछि कुटाकुटको स्थिति सिर्जना भएको हो ।विवादका क्रममा ओखलढुंगा कांग्रेसका  नेता बालकृष्ण दाहालसहित पौडेल पक्षका दर्जनौं नेता–कार्यकर्ता कुटिएका छन् ।कार्यक्रम रोकेर सहमतिमा अघि बढ्न माग गर्दै कार्यक्रमस्थल पुगेका नेता दाहाललाई कार्यक्रमका सभापतिसमेत रहेका नेविसंघ अध्यक्ष प्रदीप बानियाँ र पार्टीका जिल्ला उपसभापति तेजेन्द्र खनालले मुक्का प्रहार गरेका थिए । त्यसपछि दुवै पक्षका नेता–कार्यकर्ताबीच होहल्ला र कुटाकुट भएको थियो ।विवादका क्रममा कुटिएका नेता दाहाल अस्पताल भर्ना भएका छन् । टाउकोमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको कांग्रेस नेता लीलाबल्लभ दाहालले सञ्चारखबर लाई जानकारी दिए ।