बैकुण्ठ पराजुली काठमाण्डौ भाद्र ८ तराईमा चर्किरहेको आन्दोलनलाई ‘भैरव’ ले बढवा दिने लगायतको कारण देखाउँदै सेन्सर बोर्डले चलचित्र’ भैरव’को सेन्सर रोकेको छ ।
सेन्सर बोर्डका सदस्यहरुले चलचित्र हेरिसकेपछि गृह मन्त्रालयका अधिकारीहरुले हेरेपछि मात्रै चलचित्रलाई सेन्सर प्रमाणपत्र दिने भनेको निर्देशक तथा अभिनेता निखिल उप्रेतीले बताए । पछिल्लो समय तराईमा भड्किएको आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितीको बिषयलाई नै ‘भैरव’ले उठाएको छ, जहाँ हिंसा भड्काउनेहरुलाई तह लगाउन प्रहरीले खेल्ने भुमिकाको कथा नै ‘भैरव’को सार हो निखिलले भने, ‘सेन्सरले कुनै पनि दृश्यमा काँटछाँट नगर्ने बताएपनि प्रमाणपत्र दिन मात्रै गृह गुहारेको हो।’
नेतालाई गाली गरेको बिषयमा सेन्सर डराएको उनको भनाई छ । आईतबार सेन्सर बोर्डका सदस्यले हेरिसकेपछि सोमबारको लागी गृह सचिव सहितको टोलीले चलचित्र हेर्ने कार्यक्रम भए पनि अकस्मात कैलाली जिल्लाको हिंसात्मक आन्दोलनको अवस्थाले कार्यक्रम रोकिएको निखिलले बताए । उनका अनुसार अब मंगलबार मात्रै गृहको टोलीले चलचित्र हेरेर प्रमाणपत्र प्रदान गर्नेछ ।
निखिलको अनुसार चलचित्रको कुनै पनि संवाद र दृश्य काँटछाँट नगर्ने पक्षमा सेन्सर बोर्ड पुगेको छ । निखिलले राष्ट्रियताको पक्षमा बोलेको ‘भैरव’ अपराधीलाई र हिंसा भड्काउनेहरुलाई प्रश्रय दिने खालको नभएको दाबी गरे । भदौ ११ अर्थात आउँदो हप्ता प्रदर्शनमा आउने भनिएको यो चलचित्रको प्रचार हाईप राम्रो भए पनि देशमा चलिरहेको आन्दोलनले निर्माण टिम चिन्तित छ । पछिल्लो समयको देशको परिस्थितीलाई नै चलचित्रले बोलेको निखिल बताउँछन् ।