राष्ट्रिय मानव अधिकार आयोगद्धारा घुम्ती शिविर स्थापना, भूकम्प अति प्रभावित जिल्लामा  अनुगमन कार्य प्रारम्भ

0
658

काठमाण्डौ भाद्र ९  राष्ट्रिय मानव अधिकार आयोगको पहलमा भूकम्प प्रभावितहरुको मानव अधिकार अवस्थाको अनुगमन गर्न भूकम्प प्रभावित विभिन्न जिल्लामा एघार वटा घुम्ती शिविर स्थापना गरिएको छ ।

आयोगको संयोजनमा नेपाल पत्रकार महासंघ, नेपाल बार एशोसिएशन र गैरसरकारी संस्था महासंघको साझेदारीमा घुम्ती शिविरको कार्यालय स्थापना गरिएको हो । नेपाल सरकारद्वारा घोषणा गरिएको भूकम्प अति प्रभावित जिल्लाहरु रसुवा, नुवाकोट, धादिङ, मकवानपुर, सिन्धुली, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, गोरखा, काभ्रेपलाञ्चोक र ओखलढुंगामा शिविर स्थापना गरिएका छन् । काठमाडौँ, ललितपुर र भक्तपुरमा आयोगको केन्द्रीय कार्यालयमा स्थापित घुम्ती शिविर संचालन समितिले अनुगमन गर्ने व्यवस्था मिलाइएको छ ।

जिल्ला स्थित घुम्ती शिविरमा एक सहजकर्ता सहित पाँच सदस्यीय कार्य समितिबाट कार्यालय संचालन भई अनुगमन हुनेछ । जिल्लाका प्रत्येक निर्वाचन क्षेत्रमा पुगेर १५ जना तालिम प्राप्त स्वयम्सेवकले समेत अनुगमन गर्नेछन् ।

भूकम्प प्रभावितहरुको मानव अधिकारमा परेका असर र तिनको समाधानका लागि भएका कामहरुको अनुगमन गर्न जिल्ला समितिको निर्णयानुसार घर घरमा स्वयम्सेवकहरुको घुम्ती टोली परिचालित हुनेछन् । सो टोलीको प्रतिवेदनका आधारमा आयोगले उपयुक्त निर्णय गर्नेछ ।

टोलीले भूकम्पपछि बालबालिका, महिला, जेष्ठ नागरिक, सीमान्तीकृत समुदाय, अपाङ्गता भएका व्यक्तिहरुको मानव अधिकारको स्थितिकोे बारेमा प्राथमिकताका साथ अनुगमन गर्नेछ । शिक्षा, खाद्यान्न, आवास, स्वास्थ्य, सरसफाइ, समाजिक सुरक्षा र भेदभाव विरुद्धको अधिकारको बारेमा पनि सो टोलीले अनुगमन गर्नेछ । यसैगरी घुम्ती टोलीले विपत व्यवस्थापन, पारदर्शिता, जवाफदेहीता र सुशासनको पनि आँकलन गर्नेछ । प्रत्येक जिल्लामा अनुगमनमा जाने घुम्ती शिविर संचालन समितिका सदस्य, सहजकर्ता एवं स्वयम्सेवकका रुपमा छनौट भएका व्यक्तिहरुलाई प्रशिक्षण दिने कार्य समेत सम्पन्न भैसकेको छ ।

गाउँ–गाउँमा पुग्ने टोली तथा सदरमुकाममा स्थापित सम्पर्क कार्यालयमा मानव अधिकार उल्लंघनका अन्य विषयमा पनि उजूरी लिने सक्ने प्रबन्ध मिलाइएको छ । भूकम्पबाट सबैभन्दा बढी मानवीय क्षति भएको सिन्धुपाल्चोकमा श्रावण १२ गते भूकम्प आएकै समय ११.५६ मा घण्टी बजाई भूकम्पमा परी मृत्यु भएकाहरुको आत्माको चीर शान्तिको कामका साथ एक मिनेट मौन धारण गरेर प्रारम्भ गरिएको घुम्ती शिविरलाई आयोगले भूकम्प प्रभावित १४ जिल्लामा विस्तार गरेको हो