काठमाडौँ, १० भदौ । गत सोमबार टीकापुरमा थरुहट आन्दोलनकारीहरुको आक्रमणको घटनामा घाइते भएका नेपाल प्रहरीका हवल्दार जनक नेगीको उपचारका क्रममा काठमाडौँमा निधन भएको छ । नेगीको मृत्युसँगै टिकापुर घटनामा मृत्यु हुनेको सङ्ख्या ९ पुगेको छ ।
नेपाल प्रहरीको महाराजगञ्जस्थित अस्पतालमा हवल्दार नेगीको उपचारको क्रममा आज राति २ बजे निधन भएको प्रहरी प्रवक्ता कमलसिंह बमले जानकारी दिनुभयो ।
सेती अञ्चल प्रहरी कार्यालय गुल्ममा कार्यरत हवल्दार नेगी सोमबार कैलालीको टीकापुरमा थरुहट आन्दोलनकारीको आक्रमणबाट गम्भीर घाइते हुनुभएको थियो । कञ्चनपुरको झलारी घर भएका नेगीको पार्थिव शरीर आजै उहाँको गृहनगर पु¥याइने प्रवक्ता बमले बताउनुभयो ।