धुम्बाराही बैठकको निर्णय : बैठक बोलाउन केपी ओलीसँग सामूहिक आग्रह गर्ने

0
618

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्यहरुको अनौपचारिक बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई आधिकारिक बैठक बोलाउन सामूहिक आग्रह गर्ने निर्णय गरेको छ ।

शुक्रबार ५ जना सचिवालय सदस्यको पार्टी कार्यालय धुम्बाराहीमा बसेको अनौपचारिक बैठकले पार्टीको बैठक बोलाउन अध्यक्ष केपी शर्मा ओलीलाई सामूहिक रुपमा भेटेर आग्रह गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।शुक्रबार कार्यकारी अध्यक्ष प्रचण्डले बोलाएको अनौपचारिक बैठकमा प्रचण्डसहित नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ सहभागी भएका थिए । प्रधानमन्त्री ओली, सचिवालय सदस्य ईश्वर पोखरेल, सचिवालय रामबहादुर थापा बादल र महाचिव विष्णुप्रसाद पौडेल भने अनुपस्थित थिए ।

कार्यकारी अध्यक्षले पार्टीको आधिकारिक बैठक बोलाउन मिल्ने भए पनि पार्टी एकताको सन्दर्भलाई ध्यान दिँदै अर्का अध्यक्ष केपी ओलीको सहमतिमै बैठक बोलाउने समझदारी भएको प्रवक्ता श्रेष्ठले बताए ।

यसअघि ओलीसँग प्रचण्डले ‘वान अन वान’ भेटवार्ता गर्दै आएका थिए । बैठकपछि प्रवक्ता श्रेष्ठले पार्टी एकता जोगाउन सामूहिक रुपमा भेटेर प्रधानमन्त्रीसँग कुरा गर्ने निष्कर्ष निकालिएको बताए ।

शुक्रबारको बैठकमा अध्यक्ष प्रचण्डले औपचारिक बैठक राखे त्यहीबाट पार्टी विभाजन हुने ओलीले बताएपछि अनौपचारिक छलफल राखिएको जानकारी गराएका थिए ।प्रचण्डले प्रधानमन्त्री ओलीकै सहमतिमा अनौपचारिक बैठक बोलाइएको जानकारी दिएका थिए ।