कोदारी सडकखण्ड ४० दिन देखि बन्द,५० मिटर बाटो खुलाउन कसैले चासो दिएनन् । ( भिडियो सहित )

0
749

असार १ गते आएको वाढी र पहिरोका कारण अवरुद्ध बनेको अरनिको राजमार्गको कोदारी खण्ड ४० दिन बित्दा पनि सुचारु हुन सकेको छैन । तल्लो कोदारी र माथिल्लो कोदारीको बिचमा ५० मिटर जति बाटो निर्माण गर्न नसक्दा चिनसँगको ब्यापारीक कारोवार गर्ने मुख्य मार्ग नै बन्द रहेको छ । दैनिक करोडौको कारोवार हुने भन्सार नाकाबाट हुने ढुवानी बन्दहुँदा राजश्व संकलनमा ठुलो क्षती पुगेको छ । राजधानीबाट मात्रै १४४ किलो मिटरको दुरिमा रहेको नाका ब्यबस्थीत हुन नसक्दा चिनसँगको कारोबार रसुवागढी नाकाबाट गर्नु पर्ने बाध्यता सृजना भएको छ । कोदारी नाकाबाट सामान ढुवानी गर्दा २५ हजार भाडामा कन्टेनर काठमाण्डौ आई पुग्ने गरेकोमा हाल २० हजार भन्दा बढि भाडा लाग्नुका साथै २ स्थानमा लोड अनलोड गर्नु पर्ने भएकाले सामान बिग्रने हुँदा ब्यापारीले क्षति भोग्नु परेको छ ।

४० दिन देखि सडक बन्द हुँदा स्थानिय समस्यामा परेका छन् । स्थानिय मन बहादुर तामाङका अनुसार दिउँसो बाटो एकै छिन खुले पनि रातिभरीको बर्षाले पहिरो खस्ने गरेको र बाटो खुलाउन कसैले चासो नदिएको उनको भनाई छ । भोटेकोसी गाउँपालिका वडा नम्बर २का जनप्रतिनिधीले बाटो खुलाउने बिषयमा कुनै चासो नदिएको तामाङको भनाई छ । स्थानियले दिएको जानकारी अनुसार यो बाटो बन्द गराउन माफियाहरुको ठुलो योजना रहेकोछ । तातो पानी नाका बन्द भएमा रसुवागढी नाका हुँदै सामानको ढुवानी गर्दा एउटा कन्टेनरले १ लाख सम्म भाडा लिन पाउने भएकाले तातोपानी नाका बन्द गर्न ट्रान्सपोर्ट ब्यबसायीकै हात हुन सक्ने स्थानियले अनुमान गरेका छन् । अरनिको राजमार्ग अन्तरगत पर्ने कोदारी सडक खण्डमा देखिएको समस्या र स्थानियको आक्रोश पुर्ण भनाई भिडियोमा हेर्न सक्नुहुनेछ ।