रेशम चौधरी तटस्थ,१ बर्ष नपुग्दै पार्टी फुट्नु दुर्भाग्य : राजेन्द्र महतो ।

0
705

जनता समाजवादी पार्टीको आधिकारिकता विवादमा रेशम चौधरी तटस्थ बसेका छन् । डिल्लीबजार कारागारबाट निर्वाचन आयोग पुगेका उनले आधिकारिकता विवाद समाधानका लागि गरिएको सनाखतमा तटस्थ बसेका हुन् । जसपा आधिकारिता विवादमा निर्वाचन आयोगले बहुमत पक्ष छुट्याउन ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिका सदस्यलाई सोमबार बोलाएको थियो । ‘जेलबाट आएर एउटा पक्षमा हस्ताक्षर गर्न मेरो नैतिकताले दिएन । मेरो पक्ष पनि जसपा हो, विपक्ष पनि जसपा हो’ उनले निर्वाचन कार्यालयबाहिर नेपाल पुकार डट कमसँग भने । चौधरीले पार्टीको आधिकारिकता जसले पाए पनि अध्यक्ष महन्थ ठाकुरलाई भीष्म पितामहको दर्जा दिन आग्रह गरे ।

त्यसै गरि जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी एकता गरेको एक वर्षमा नै फुटको अवस्था आउनु दुःखद् भएको बताएका छन् ।आधिकारिकता विवादमा सुनुवाई गरिरहेको निर्वाचन आयोगमा सनाखतका लागि पुगेका महतोले भने, ‘यो प्रयोजनका लागि उपेन्द्रजीको पार्टी बचाइदिएको थिएन । शोषण उत्पीडनमा परेका जनतालाई अधिकार दिन पार्टी एकता गरेका थियौं ।’उपेन्द्र यादवको पार्टी संकटमा पर्दा आफूहरुले सहयोग गरेको, तर अहिले प्राविधिक कारण देखाएर पार्टी फुटाउन खोजेको उनको आरोप छ । महतो निकट केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरु समेत उपेन्द्र यादवतिर लागेका छन् ।