खुसिको खवर,प्राधिकरणमा कुलमानलाई फेरि नियुक्त गर्न प्रधानमन्त्रीले दिए ठाडो आदेश ।

0
913

सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि कुलमान घिसिङलाई ल्याउने तयारी गरेको छ । ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री पम्फा भुसालले मंगलबार मात्र प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिएर सहयोग गर्न आग्रह गरेकी थिइन् । उनले बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाकै उपस्थितिमा कार्यकारी निर्देशक शाक्यलाई बोलाएर राजीनामा मागेकी हुन् ।कार्यकारी निर्देशक शाक्यले भने केही जवाफ दिएका छैनन् । तर प्रधानमन्त्री देउवाले नमागेको कारण राजीनामा नदिने निकटवर्तीहरुसँग बताएका छन् ।

प्रधानमन्त्रीको निजी सचिवालयले भने शाक्य हटेपछि कुलमान घिसिङलाई नियुक्त गर्ने प्रक्रिया अघि बढाउन उर्जा मन्त्रीलाई निर्देशन दिइसकेको बताएको छ । कुलमान घिसिङलाई प्राधिकरणमा फर्काउन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री देउबासँग छलफल गरेका थिए । अघिल्लो कार्यकालको कार्यम्पादनको आधारमा पुनः नियुक्ति गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि प्रचण्डले पटक(पटक आग्रह गरेका थिए । तर, ओलीले प्रतिस्पर्धा प्रक्रियाको बहाना बनाएर घिसिङलाई नियुक्ति दिन अस्वीकार गरेका थिए । तर, शाक्यलाई भने ओलीले कुनै प्रतिस्पर्धा नै नगराई सोझै नियुक्ति दिएका थिए । नयाँ सरकार बनेपछि नै प्रचण्डले कुलमानलाई पुनः प्राधिकरणमा गएर काम गर्ने तयारी थाल्न भनेको स्रोतले बतायो ।

अघिल्लो कार्यकालमा कुलमानले लोडसेडिङ हटाएका थिए भने लामो समय घाटामा रहेको प्राधिकरणलाई नाफामा ल्याएका थिए। उनको चार वर्षे कार्यकाल सकिएपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले उनको पुनर्नियुक्त गरेको थिएन। उनको ठाउँमा सुरूमा प्राधिकरणकै शाक्यलाई कायममुकायम कार्यकारी निर्देशक बनाइएको थियो भने पछि उनैलाई कार्यकारी निर्देशकमा नियुक्त गरिएको थियो। कुलमानलाई विद्युत प्राधिकरणमा कार्यकारी निर्देशक बनाउन माग गर्दै त्यतिबेला सडक प्रदर्शनसमेत भएका थिए।