नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले जति गाली गरे पनि आफू पार्टी एकता होस् भन्ने पक्षमा रहेको बताएका छन् । आफ्नो पक्षका केन्द्रीय सदस्यहरुको बैठकलाई सम्बोधन गर्दै नेता नेपालले पार्टी एकतामा जोड दिएका हुन् । आफूहरुले दक्षिणपन्थी विचारविरुद्ध संघर्ष गर्दै आएको र यसका लागि एकतावद्ध भएर अगाडि बढ्नुपर्ने उनले बताए । ‘केपी ओलीले मलाई जति नै गाली गरे पनि म अहिले पनि पार्टी एकता होस् भन्ने पक्षमा छु । एकताका लागि मेरो प्रयत्न जारी छ,’ उनले भनेका छन् ।नेताहरुले केपी ओलीले हामीले अलमल्याउन खोजेको त होइन भन्ने आशंका व्यक्त गरेको भन्दै उनले भनेका छन्, ‘म त्यस्तो नहोला भन्ने ठान्छु र एकतामा जोड दिन चाहन्छु ।’
पार्टी एकताका लागि प्रयत्न गर्नुपर्ने भन्दै उनले आलोचना गर्दा संयमित र जिम्मेवार बन्न आग्रह गरेका छन् । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले पार्टी एकतामै जोड दिएको छ । केन्द्रीय सदस्यहरुको दुई दिनसम्म चलेको बैठकले पार्टी एकताका लागि सजगताका साथ अगाडि बढ्ने निर्णय गरेको हो । २७ असारमा भएको दशबुँदे लगायतका सहमति कार्यान्वयन गर्दै एकताका आधार तयार गर्नुपर्ने बैठकले निर्णय गरेको छ । नेता रघुजी पन्त भन्छन्, ‘हामीले पार्टीलाई एकतावद्ध बनाउने दिशातर्फ सजगताका साथ अघि बढ्न आवश्यक छ ।’यसबारे थप निर्णय गर्ने जिम्मेवारी स्थायी कमिटीलाई दिएको समेत नेता पन्तले जानकारी दिए ।
आफूहरुले छिटो एकता होस् भन्ने चाहेको भए पनि अविश्वास लगायतका कारण सम्भव भइनरहेको उनले बताए ।पार्टी एकताका लागि १० बुँदे सहमति भएको र वार्ता चलिरहेकोले बेला माधवकुमार नेपाल लगायतका नेताहरुमाथि अनेकौं लाञ्छना लगाउनु उचित नभएको भन्दै बैठकले दुःख व्यक्त गरेको छ । ‘यस्तो लाञ्छना लगाउने काम कतैबाट हुनुहुँदैन । त्यसैले विचार व्यक्त गर्दा सम्पूर्ण पार्टीपंक्ति संवदनशील र जिम्मेवार हुन आवश्यक छ’ बैठकको निर्णयमा भनिएको छ ।नेपाल पक्षको बैठकले पार्टी एकता प्रक्रिया चलिरहेका बेला सदस्यता नवीकरण लगायतका संगठनात्मक काम गर्नु एकतालाई भाँजो हाल्नु हुने बताएको छ र यस्ता गतिविधि तत्काल रोक्न ओली पक्षलाई आग्रह गरेको छ ।