रेल बिभागका महाप्रबन्धकले दिए राजिनामा ।

0
684

रेल बिभागका महाप्रबन्धक गुरु भट्टराईले पदबाट राजीनामा दिएका छन्। भट्टराईले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशव कुमार शर्मालाई राजीनामापत्र बुझाएका हुन्। भट्टराईले मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ विदामा रहेका कारण सहसचिव शर्मालाई राजीनामा बुझाएको पुष्टि गरे। सरकारले राजनीतिक प्रतिशोध लिन पुर्वाग्रही ढंगले स्पष्टीकरण सोधेको भन्दै राजीनामा दिएको भट्टराईले बताए। स्पष्टीकरणको नाटकमा आफू नफस्ने भन्दै राजीनामा दिएको बताउँदै भट्टराईले वर्तमान सरकारलाई अराजनीतिक ढंगले स्थापित र जनविरोधि तथा विकासविरोधी भएकाले यो सरकारसँग काम गर्न नसक्ने आरोप लगाए।

२ दिन अघि मात्रै उनले पत्रकार सम्मेलन गरी सरकारले सोधेको स्पष्टीकरण नदिने बताएका थिए । आफुले जिरोबाट सुरु गरेर सञ्चालनको तयारीमा पुर्याएको रेल बिभागलाई लथालिङ बनाउने गरि सरकारको षड्यन्त्र गरेको उनको आरोप छ । रेल बिभागमा पत्रकार सम्मेलनको आयोजना गरी भट्टराईले राजनितीक पुर्वाग्रहका आधारमा आफुलाई बर्खास्थ गर्न लागेको बताएका छन् । प्रचण्ड र माधव नेपालले बिगत देखि नै आफ्नो बिरोध गर्दै हिंडेको दावी गर्दै उनले अब मैदानबाटै छिनो फानो गर्ने बताए । आफुले सामाजिक सञ्जालमा लेखेकै भरमा जिम्मेवारीबाट हटाउने हो भने लोकतन्त्र भनेको यही हो भन्दै प्रतिप्रश्न गरे ।

सरकारले सोधेको राजनितीक स्पष्टिकरणको जवाफ आफुले नदिने उनको भनाई छ । सरकारले आफुलाई सामाजिक सञ्जालमा लेखिएको बिषयलाई आधार मानेर स्पष्टीकरण सोधेको बताउँदै राजनितीक बिषयमा पदमा बसेर जवाफ दिन नमिल्ने उनले जिकिर गरे । आफुलाई बर्खास्थ गरे मैदानमा उत्रिन्छु तर स्पष्टिकरण दिएर सर्बोच्च जान्न भन्दै सरकारलाई बर्खास्थ गरेर देखाउन चुनौती दिएका छन् । आफुले बिभाग छोड्नु परे नेपालीको रेल देख्ने सपना ५ बर्ष पछाडी धकेलिने उनको तर्क थियो । पत्रकार सम्मेलनमा महाप्रबन्धक भट्टराईले दिएको अभिब्यक्ति नेपाल पुकार डट कमको युट्युव च्यानलमा हेर्न सक्नुहुने छ । सरकारले सात दिन भित्र स्पष्टिकरण दिन साउन १९ गते पत्र पठाएको थियो ।