काठमाडौ, १३ भदौ । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आफूहरुले सुरु गरेको डीभी र पीआर लिने कर्मचारी विरुद्धको अभियानको विरोध गर्नेहरु नेपाली हुनै नसक्ने दावी गरेका छन ।
दिनेशकुमार पोख्रेलद्धारा लिखित सुशासनकालागि विद्युतीय अवधारणा शिर्षकको पुस्तकको रिपोर्टर्स क्लब नेपालमा विमोचन गर्दै सो अभियानमा पहिला आफूले अवरोधहरु बेहोनु परे पनि हिन्दी सिनेमामा देखाईएजस्तै विचमा नायकले अवरोध झेल्नु परे पनि अन्तमा उसैको जित भए जस्तै आफू सफल भएको सुनाए ।

कार्यक्रममा उनले समृद्धि, सुशासन र पारदर्शिताको लागि ई–गर्भनेन्स लागु गर्नु आवश्यक रहेको भन्दै आफूले अघि सारेको योजना सफल भए आगामि १० वर्षमा कोही पनि नेपाली रोजगारीको लागि विदेशीनु नपर्ने र त्यसको दश वर्षमा नेपालले कसैसँग माग्नु पर्ने अवस्था नरहने ठोकुवा गरे ।
मन्त्री पण्डितले आफू कर्मचारीको सरुवा बढुवा र कामलाई स्पष्ट देखाउने सफ्टवेयर निर्माणमा लागेको भन्दै त्यो लागु भएपछि सरुवा बढुवा लागि कसैले कसैको शक्ति लगाउनु नपर्ने बताए । उनले भने– को कर्मचारी कहाँ कसरी काम गरिरहेका छन त्यो एप्सले सार्वजनिक रुपमा देखाई दिन्छ । पहिला एक जना सुब्बाले चाहेको ठाँउमा सरुवा गराउन ३५ जना सभासद लिएर आएका थिए । यो एप्स लागु भएपछि यो समस्या हट्छ ।
उनले जग्गा धनि लालपुर्जालाई कम्यूटरमा राख्ने विषयमा पनि छलफल जारी रहेको जानकारी दिदै विकासको लागि ईगर्भनेन्स अति आवश्यक भईसकेकोले पोख्रेलको पुस्तक यो क्षेत्रकोलागि कोशे ढुंगा हुने विश्वास ब्यक्त गरे ।
उनले विभिन्न ठाँउमा विभिन्न नाममा भईरहेका आन्दोलन प्रति लक्षित गर्दै मुलुकको अखण्डता र सार्वभौमीकताकोलागि रक्षाको लागि आफू पछि नपर्ने समेत स्पष्ट पारे ।
एमाओवादी सिन्धुपाल्चोक सभासद अनिता परियारले प्रविधिले संसारलाई साघुरो बनाईरहेको अवस्थामा विद्युतीय माध्यम नचाहेर पनि प्रयोग गर्नु पर्ने अवस्था आएको भन्दै मुलुकमा बढेको भ्रष्टाचार नियन्त्रण गर्न उच्च प्रविधिको प्रयोग गर्नु पर्ने आवश्यकता आएको बताईन ।
पुस्तकमाथि समिक्षा गर्दै ललितपुरका प्रमुख जिल्ला अधिकारी यादव प्रसा कोइरालाले सुशासन र विद्युतीय शासन एक अर्काका पुरक भएको भन्दै सरकारी सेवा चुस्त दुरुस्त हुन नसकेकोले जनताको आक्रोस बढ्दो रहेको बताए ।
उनले ईगर्भनेन्स लागु गर्न विद्युत र आईटीको आपूर्ति अवरोध रहित हुनु पर्ने आवश्यकता औल्याउँदै पुस्तकले उठाएका विषय महत्वपूर्ण भए पनि भाविष्यमा यसलाई अझै विस्तार गर्दै लैजानुपर्ने बताए ।
प्राडा कुमार प्रसाद कोइरालाले प्रविधिलाई अब कसैले रोक्न नसक्ने भन्दै पुस्तकले नेपाली समाजलाई त्यसको आवश्यकताको विषयमा सचेत गराउन सक्ने विश्वास ब्यक्त गरे ।