अफगानिस्तानबाट ७२ नेपाली काठमाण्डौ आईपुगे,उद्धारको क्रम जारी ।

0
927

अफगानिस्तानबाट उद्धार गरिएका थप ७२ जना नेपाल फर्किएका छन् । उनीहरु आज बिहान सवा नौ बजे कतार एयरवेजको जहाजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । ‘अफगानिस्तानबाट लण्डन, लण्डनबाट दोहा हुँदै कतार एयरवेजको जहाजबाट ७२ जना आज बिहान काठमाडौं आइपुगेका छन्,’ प्रवक्ता क्षेत्रीले भने । उनीहरुलाई होल्डिङ सेन्टरमा राखेर कोरोना परीक्षण लगायत प्रक्रिया पूरा गरी घर पठाइने छ ।

मंगलबार दिउँसो ११८ जना र राति ८७ जना नेपाली जजिरा एयरलाइन्सको चार्टर्ड विमानबाट कुवेत हुँदै काठमाडौं आएका थिए । परराष्ट्र मन्त्रालयका अनुसार अफगानिस्तानबाट नेपाल फर्किन चाहेको भन्दै २५६ नेपालीले आफ्नो विवरण दर्ता गराएका छन् । अफगानिस्तानमा रहेका नेपालीलाई कन्सुलर सेवा विभागको बेभसाइटमा अनलाइन पोर्टलमा रहेको नामसहितका विवरण दर्ता गर्न भाइबर र हृवाट्सएप सुविधासहितको मोबाइल नम्बर उपलब्ध गराइएको छ ।

ती नम्बरमा कन्सुलर सेवा विभागको ९७४९३२६४५८, परराष्ट्र मन्त्रालयको ९७४९३२६४५९ र नेपाली दूतावास नयाँ दिल्लीको ८९२९६०१९२५ छन् । ती नम्बरको प्रयोग गरी आफ्नो विवरण टिपाउन अनुरोध गरिएको छ । उद्धारको पखाईमा रहेका नेपालीलाई उद्धार नहुँदासम्म सम्पर्कमा रहन तथा एक आपसमा त्यहाँ रहेका नेपालबीच उपलब्ध माध्यमबाट सूचना आदानप्रदान गर्न र सुरक्षित रहन परराष्ट्र मन्त्रालयले अनुरोध गरेको छ । उद्धार गर्ने कार्यमा संस्थागत रुपमा अफगानिस्तानमा रोजगारीका लागि नेपाली नागरिक पठाउने वैदेशिक रोजगार व्यवसायीलाई उद्धार प्रक्रिया सहयोग गर्न आग्रह गरिएको छ ।

अफगानिस्तानबाट कतार हुँदै १२७ जना नेपालीहरु काठमाडौं आइपुगेका छन् । उनीहरु जजिरा एयरको विमानमार्फत् आज बिहान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् ।अफगानिस्तानको काबुलबाट अमेरिकी एयरफोर्सले उनीहरुलाई उद्धार गरेर कतारको दोहा पुर्याएको थियो । दोहाबाट कुबेत हुँदै उनीहरुलाई काठमाडौं ल्याइएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले अफगानिस्तानबाट कुबेत हुँदै १२७ नेपाली आज बिहान काठमाडौं आइपुगेको बताए । तर परराष्ट्र मन्त्रालयले भने ११८ जना नेपाली काठमाडौं आएको ट्वीटरमार्फत् जानकारी दिएको छ ।

उनीहरुलाई लिन नेपाली सेनाको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको छ । अफगानिस्तानबाट आएका नेपालीहरुलाई सामाखुसीस्थित एक क्वारेन्टिनमा राख्ने र प्रक्रिया पुर्याएर घर फर्काइने सुरक्षा स्रोतले बतायो ।अफगानिस्तानमा अझै केही नेपालीहरु उद्धारको पर्खाइमा छन् । परराष्ट्र मन्त्रालयले सोमबार साँझसम्म १३४ नेपालीहरु सम्पर्कमा आएको र सम्पर्कमा आएका सबैलाई उद्धार गर्ने जनाएको छ ।विद्रोही तालिबान समूहले अफगानिस्तानमा नियन्त्रण जमाएपछि त्यहाँका राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । विभिन्न देशहरुले सेना पठाएर आफ्ना नागरिकहरुलाई उद्धार जारी राखेका छन् । परराष्ट्र मन्त्रालयले संयुक्त राष्ट्रसंघ र सहयोगी देशहरुलाई पत्र लेखेर नेपालीहरुलाई पनि उद्धार गरिदिन आग्रह गरेको छ ।