नेता माधवकुमार नेपालले अलग पार्टी दर्ता गरेपछि नेकपा एमालेको केन्द्रीय कमिटीको पहिलो बैठक सुरु भएको छ । ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा जारी बैठकले तीनवटा विषयमा निर्णय लिने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । केन्द्रीय सदस्य समेत रहेका तामाङका अनुसार १० बुँदे कार्यान्वयन प्रस्ताव सम्बन्धि स्थायी कमिटीको निर्णय अनुमोदन गर्ने, पार्टी सदस्यता बितरण र विधान महाधिवेशन तथा स्थानीय अधिवेशनबारे निर्णय गर्ने एजेण्डामा छलफल हुनेछ ।
त्यस्तै तेस्रो एजेण्डाका रुपमा पार्टी विभाजनको पक्षमा उभिएका केन्द्रीय सदस्यहरुको कारवाही प्रक्रिया अघि बढाउने रहेकोछ तामाङले जानकारी दिए । पाटी फुट पछिको बैठकलाई चासोका साथ हेरिएको छ । प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त भएका छन् । मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिएसँगै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आचार्यलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । नेकपा एमालेको सचिव समेत रहेका आचार्यलाई मुख्यमन्त्री बनाउने गरी आजै बसेको संसदीय दलको बैठकले दलको नेता चयन गर्ने निर्णय गरेको थियो ।
प्रदेश १ मा केपी ओली पक्षमा रहेका मुख्यमन्त्री शेरधन राई अल्पमतमा पर्ने स्थिति आएपछि उनले राजीनामा दिएर आचार्यलाई मुख्यमन्त्री बनाइएको हो । वागमती प्रदेशमा अष्टलक्ष्मी शाक्यलाई गरेजस्तै प्रक्रिया पुर्याएर आचार्यलाई प्रदेश १ को मुख्यमन्त्री बनाइएको हो । मुख्यमन्त्री नियुक्त भएका आचार्यले अब एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । प्रदेशसभाको अंक गणित हेर्दा एमालेका चारजना सांसद मात्रै माधव नेपालको पक्षमा लागे भने आचार्यले बहुमत पाउने अवस्था छैन ।
माधव नेपाल पक्षले त्यहाँ ९ जना सांसदहरु आफ्नो पक्षमा रहेको बताउँदै आएको छ । माधव नेपाल पक्षले बुधबार मात्रै निर्वाचन आयोगबाट आधिकारिकता पाएको छ भने त्यसको असर प्रदेशमा पर्ने निश्चित छ । प्रदेश १ को कुल सांसद संख्या ९३ हो । सरकार बन्नका लागि चाहिने बहुमत संख्या ४७ हो । आजका दिनसम्म नेकपा एमालेसँग एकल बहुमत अर्थात् ५१ सांसद छन् । तर यीमध्ये पाँचजना सांसद मात्रै माधव नेपालको पक्षमा लागेको खण्डमा एमालेको बहुमत गुम्ने निश्चित छ ।