आन्दोलनरत पक्षलाई वार्तामा आउन फेरी पत्राचार

0
749

काठमाडौं, भदौ १४ – प्रधानमन्त्री सुशील कोइरालाले आन्दोलनरत मधेशवादी दलहरु र थारु कल्याणकारीसभा तथा  थरुहट/थारुवान संयुक्त संघर्ष समितिलाई वार्ताको लागि फेरि पत्राचार गर्नुभएको छ ।

pm

प्रधानमन्त्री कोइरालाले आन्दोलनरत संघीय समाजवादी फोरम,तराई –मधेश लोकतान्त्रिक पार्टी,सद्भावना पार्टी र तराई– मधेश सद्भावना पार्टी नेपालका साथै थारु कल्याणकारीसभा तथा  थरुहट/थारुवान संयुक्त संघर्ष समितिका तर्फबाट पठाइएको पत्रको जवाफमा आइतबार बेलुकी अर्को पत्र मार्फत वार्ताको लागि आह्वान गर्नु भएको हो ।

प्रधानमन्त्री कोइरालाले संघीय समाजवादी फोरम, तराई –मधेश लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी र तराई– मधेश सद्भावना पार्टी नेपाललाई पठाउनु भएको पत्रमा संवन्धित पाटीहरुका तर्फबाट उठाइएका विगतका सम्झौता तथा सहमतिलाई कार्यान्वयन गर्ने विषयलाई सरकारले यस अघि गरेका निर्णय र प्रस्तावित संविधानको विधेयकमा समेटिएका विषयलाई एकीकृत गरी वार्तामा बसेर छलफल गर्न सकिने बताउनु भएको छ  । उहाँले समेट्नु पर्ने विषयमा सहमति गरी संविधानको विधेयकमा संशोधन प्रक्रियामा जाँदा अझै पनि समावेश गर्ने प्रयत्न गर्न सकिन्छ भन्ने विश्वास व्यक्त गर्दै आपसी सहमतिलाई तत्काल संविधानको विधेयकमा नै समावेश गरेर संविधान निर्माणको चालु प्रक्रियालाई परिणाममुखी बनाउन सकिने बताउनु भएको छ ।