बोनस जिवन लिएर स्वदेश फर्किए झलनाथ खनाल

0
466

नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालले नेकपा एमाले फुटेको नभई आफूहरुले विद्रोह गरेको बताएका छन् ।एमालेको नवौं महाधिवेशनपछि अहंकारी गुटले नेतृत्व कब्जा गरेको र अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई दक्षिणपन्थी अवसरवाद, अहंकारवाद, व्यक्तिवादमा लगेकाले विद्रोह गर्नुपरेको उनले बताए । भारतमा उपचार गरेर सोमबार स्वदेश फर्किएका नेता खनालले त्रिभुवन विमानस्थलमा भने, ‘कम्युनिस्ट आन्दोलन विर्सजनमा जाने खतरा भएकाले विद्रोह गर्नुपरेको हो ।

यो विद्रोह नवनिर्माणका निम्ति हो ।’ओलीको चर्को आलोचना गरेका उनले एमालेको नवौं महाधिवेशनसम्म आफूहरुले विकास गरेको क्रन्तिकारी कार्यदिशा, नीति र सिद्धान्तलाई पुनर्स्थापित गर्न जरुरी भएको बताए । त्यसका लागि एमालेमै बसेर अन्तर संघर्ष गरेपनि जब्बर भएर बसेको दक्षिणपन्थी अवसरवाद, गुटवाद र व्यक्तिवादले नदिएको उनले बताए ।खनालले भने, ‘कम्युनिस्ट पार्टीको सरकार ढल्यो भनेर गोहीको आँसु बगाउन कुनै जरुरी छैन । कम्युनिस्ट पार्टीको नाममा बद्नाम सरकार थियो, त्यो ढल्यो ।’

गोहीको आँसु झार्नुपर्दैन
पूर्वप्रधानमन्त्री खनालले उपचारका लागि भारत जाँदा भारी मन लिएर गएको आफू जोशिलो भएर फर्किएको बताए । आफू उपचारका क्रममा रहँदा सर्वोच्च अदालतले संसद पुनर्स्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने ऐतिहासिक फैसला गरेको उनले बताए ।यसले लोकतन्त्र, संसद र संविधानको रक्षा भएको भन्दै उनले भने, ‘केपी ओलीको सरकार आफैंमा निरंकुश थियो । त्यो सरकार ढल्नु भनेको निरंकुशताको पराजय हो । दक्षिणपन्थी अवसरवाद, अहंकार, व्यक्तिवादको पराजय हो ।’खनालले अघि भने, ‘कम्युनिस्ट पार्टीको सरकार ढल्यो भनेर गोहीको आँसु बगाउन कुनै जरुरी छैन । कम्युनिस्ट पार्टीको नाममा बद्नाम सरकार थियो, त्यो ढल्यो ।’उनले अब बाम लोकतान्त्रिक शक्तिको गठबन्धनबाट अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।

यो नाफाको जीवन हो
स्वास्थ्यमा समस्या भएपछि २ असारमा भारत गएका खनालको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । खनाललाई उनकी पत्नीकी दिदीकी छोरी मेरिना चित्रकारले मिर्गौला दिएकी थिइन् । मिर्गौला प्रत्यारोपणपछि आफूले पहिले भन्दा पनि ताजा महसुस गरेको खनालले बताए ।एकीकृत समाजवादीका वरिष्ठ नेता खनालले भने, ‘पछिल्लो सर्जरीपछि विल्कुलै नयाँ जीवन प्राप्त गरेको छु, यो मेरो जीवन नाफाको जीवन हो, बोनसको जीवन हो । सास रहुन्जेल, देश, राष्ट्रियता, कम्युनिस्ट आन्दोलनको विकास, विस्तार र सुदृढिकरणमा लगाउँछु ।’ उनले कार्यकारी पदमा भने कुनै दाबी नगर्ने बताएका छन् ।एमालेमा ७० वर्षको उमेर हद ल्याउने मुख्य नेता आफू भएको स्मरण गर्दै खनालले भने, ‘७१ वर्ष पार गरिसकेँ । अब कुनै पनि कार्यकारी पदमा मेरो दाबी रहँदैन ।’

स्वागतमा को को पुगे विमानस्थल ?
सोमबार अपरान्ह काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण गरेका पूर्वप्रधानमन्त्री खनाललाई स्वागत गर्न नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, बेदुराम भुसाल, मुकुन्द न्यौपाने, प्रमेश हमाल, राजेन्द्र पाण्डेलगायतका नेताहरु पुगेका थिए ।विमानस्थलबाट बाहिरिँदा खनाल ह्वील चेयरमा बसेका थिए । विमानस्थलमा खनालका तर्फबाट एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य प्रमेश हमालले विज्ञप्ति वाचन गरेका थिए । पछि खनालले ह्वीलचेयरमै बसेर सम्बोधन गरेका थिए ।खनालले आफ्नो उपचारमा सहयोग गरेकामा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेल, हालका प्रधानमन्त्री शेरबहादुर देउवा, माधवकुमार नेपाल र सत्तारुढ गठबन्धनका नेताहरुलाई धन्यवाद दिए ।