सेयर बजार प्रति आकर्षण बढ्यो,न्यादीको आईपिओमा २५ हजारको आवेदन ।

0
460

न्यादी हाइड्रोपावरको आइपिओमा २५ हजारभन्दा बढीको आवेदन परेको छ । आयोजनाको अति प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको पाँच लाख कित्ता सेयरको लागि दुई हजार नौ सय ५३ जना आवेदकबाट १६ करोड ३७ लाख १८ हजार एक सय रुपैयाँबराबरको माग आवेदन परेको छ ।

जिल्लावासीका लागि छुट्याइएको १० लाख कित्ता सेयरको लागि २२ हजार दुई सय ३८ जना आवेदकबाट ४४ करोड ७५ लाख ८५ हजार सात सय रुपैयाँबराबरको माग आवेदन परेको न्यादी जलविद्युत् आयोजनाका जनसम्पर्क अधिकृत विजय गुरुङले बताए । उनका अनुसार भदौ १ गतेबाट बिक्री खुल्ला भएको आइपिओ भर्ने समय मंगलबार सकिएको छ । मंगलबार अन्तिम दिनसम्म ६१ करोड १३ लाख तीन हजार आठ सय रुपैयाँबराबरको माग आवेदन परेको आयोजनाले जनाएको छ । जिल्लावासीको लागि कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका १० लाख कित्ता सेयर निष्कासन गरेको हो भने अति प्रभावित क्षेत्रका लागि पाँच लाख र संस्थापक सेयरधनीका लागि तीन लाख कित्ता सेयर प्रारम्भिक चरणमा निष्कासन गरेको हो ।

यसपछि कम्पनीले सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने जनाएको छ । ०७३ चैतबाट निर्माण सुरु भएको आयोजनाको निर्माणकार्य सम्पन्न भए पनि ट्रान्समिसन लाइन र सबस्टेसनको काम सकिएसँगै केही महिनामा विद्युत् उत्पादन गरिने आयोजनाका जनसम्पर्क अधिकृत विजय गुरुङले बताए । आयोजनाको निर्माण चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्सन एन्ड इन्स्टलेसन कम्पनीले गरेको हो । बुटवल पावर कम्पनीको ९७ दशमलव २२ प्रतिशत र लमजुङ विद्युत् विकास कम्पनीको दुई दशमलव ७८ प्रतिशत लगानीमा उक्त आयोजना निर्माण भएको हो । आयोजना कुल ६ अर्ब ११ करोड ७७ लाख ५५ हजार लागतमा निर्माण भएको आयोजनाले जनाएको छ । जलविद्युत् आयोजनाहरूले आइपिओ निष्कासन गरेसँगै लमजुङका स्थानीयले सेयर खरिदमा लगानी गर्न थालेका छन् । केही वर्षअगाडिसम्म सेयरसम्बन्धी कुनै जानकारी नभएका र चासो नराख्ने स्थानीय, आयोजना गाउँमै निर्माण भएसँगै सेयरमा चासो लिने र लगानी गर्न थालेका हुन् । लमजुङको मध्यमर्स्याङ्दीमा ७० मेगावाटको विद्युत् उत्पादन भए पनि जिल्लाका नागरिकले सेयर हाल्न पाएका थिएनन्, तर अहिले जिल्ला जलविद्युतमैत्री भएसँगै लमजुङका ग्रामीण भेगका नागरिकसमेत सेयरमा आकर्षित भएको मर्स्याङ्दी गाउँपालिकाका नरबहादुर गुरुङले बताए । नयाँ पत्रिकाबाट साभार ।