नेपाली आकासमा हेलीकप्टर उँडाएर भारतले नेपाली राष्ट्रियतालाई थप आहत बनाउने काम गरिरहेको छ । भारतले महाकालीवारि नेपाली सेनाको ब्यारेकमाथिसमेत अनधिकृत रूपमा तारन्तार हेलिकोप्टर उडाउन थालेपछि जिल्ला प्रशासनले भारतसँग लिखित आपत्ति जनाएको छ भने नेपाल सरकारको गृह मन्त्रालयलाई पनि यो विषयमा जानकारी गराएको छ ।
तर न भारतले अनधिकृत उडान रोकेको छ न नेपाल सरकारले कुनै प्रतिक्रिया जनाएको छ । महाकालीमा बेपत्ता भएका जयसिंह धामीको खोजबिनका लागि गृह मन्त्रालयको टोलीले महाकाली नदीको पल्लो किनारमा पनि ड्रोन उडाउन खोज्दा भारतले असहयोग गरेको थियो । साउन १५ मा बेपत्ता भएका जयसिंहको खोजबिन गर्न ‘ड्रोन’ क्यामेरा उडाउन अनुमति माग्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले साउन २३ मा पठाएको अनुरोधपत्रको जवाफ अझै आएको छैन ।
बेपत्ता नागरिकको खोजीमा महाकाली किनारमा ‘ड्रोन’ उडाउनसमेत नदिने भारतले भने महाकालीवारि दार्चुला सदरमुकाम खलंगा बजारमाथि पटक–पटक हेलिकोप्टर उडाउन थालेको छ ।भारतले हेलिकोप्टर उडाउँदै आएको क्षेत्रमा सर्वसाधारणको बस्तीमात्र होइन, सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको कार्यालयसमेत पर्छ । दुई साताअघि पनि भारतीय हेलिकोप्टर नेपाली सेनाको गुरु गोरख गुल्म हेडक्वार्टरमाथिबाट उडेको थियो । लगत्तै गुल्म हेडक्वार्टरले आपत्ति जनाउँदै तत्काल रोक्ने गरी पहल थाल्न जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखेको थियो । पत्रको बोधार्थ नेपाली सेनाको मुख्यालयलाई पनि पठाइएको थियो । सेनाको पत्रपछि प्रशासनले त्यसको जानकारी गृह मन्त्रालयलाई पनि पठायो ।
परराष्ट्रमार्फत पहल गर्नुपर्नेमा गृह मन्त्रालय नै मौन बसेको छ ।केही दिनको अन्तरालपछि भारतीय हेलिकोप्टर नेपाली ‘एयर स्पेस’ नाघेर लगातार बजार र सेनाको ब्यारेकमाथि फेरि उड्न थालेपछि बुधबार जिल्ला सुरक्षा समितिको बैठक बसेको थियो । बैठकले भारतीय कदमप्रति आपत्ति जनाउँदै यस्तो गतिविधि रोक्न आवश्यक पहल गर्ने निर्णय गरेको थियो । जुनसुकै प्रयोजनका लागि उडाइएको भए पनि त्यसमा नेपालको अनुमति आवश्यक पर्ने सुरक्षा समितिको ठहर छ ।भोलिपल्ट बिहीबार दार्चुला प्रशासनले भारतीय जिल्ला अधिकारीलाई पत्र पठाउँदै यो कदम तत्कालै रोक्न भनेको छ । हेलिकोप्टर उडाउन आफ्नै आकाश प्रयोग गर्न पनि नेपाली प्रशासनले भारतीय पक्षलाई आग्रह गरेको छ । ‘भारतको गैरसैनिक हेलिकोप्टर निरन्तर रूपमा नेपाल र भारतबीच कुनै समन्वय नगरी गुरु गोरख गुल्म हेडक्वार्टर तैनाथ रहेको स्थान खलंगा ब्यारेक तथा दार्चुला जिल्ला सदरमुकाम खलंगा क्षेत्रको नेपाली आकाश प्रयोग गरी उडान गरिरहेको व्यहोरा अवगत गराइन्छ’ पत्रमा भनिएको छ ।साभार ई कान्तिपुर