बाढीले राजधानी जलमग्न,आधा दर्जन खोलामा बाढी,३ सय भन्दा धेरै घर ढुवानमा ।

0
626

काठमाडौंमा आईतबार राती देखि आएको बाढीका कारण तीन सय ८२ घर डुबानमा परेका छन् । एक सय ३८ जनालाई प्रहरीले उद्धार गरेको छ । वर्षाका कारण खोला किनारका बस्ती डुबानमा परेका हुन् । ती बस्तीका बासिन्दा जोखिममा परेपछि प्रहरीले उद्धार गरेर सुरक्षित स्थानमा लगेर राखेको हो । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार बल्खुको तरकारी बजार, कुलेश्वरको हाउजिङ क्षेत्र, कोटेश्वरको नरेफाँट क्षेत्र, बालाजुको नेपालटारको तल्लो क्षेत्र, शंखमुल पार्क, कालिमाटीको तरकारी बजार क्षेत्र डुबानमा परेका छन् । एसएसपी सिंहका अनुसार मानवीय क्षति भने भएको छैन ।

बाढीले काठमाडौंको खोला किनारका बस्ती नराम्रोसँग प्रभावित भएका छन् । बल्खुको तरकारी बजार पूरै डुबानमा परेको छ । गाडीहरु पनि बाढीमा फसेका छन् । बाग्मती, विष्णुमति, इच्छुमति, धोबीखोला, बल्खुखोला, मनोहरा खोला, सामाखुशीखोला लगायतका नदीहरुमा बाढी आएको छ । सो बाढीले तटीय क्षेत्रका बस्तीहरु डुबाएको छ ।घरमा बाढी पसेपछि स्थानीयको बिचल्ली भएको छ । उनीहरु घरभित्र पसेको पानी फाल्न व्यस्त देखिन्छन् । शंखमुलको खोला किनारको सडकसम्मै बाढी आएको छ । विशेषगरी खोला किनारका सुकुम्वासी बस्तीहरु बढी प्रभावित भएका छन्

काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार काठमाडौंमा बाढीका कारण तीन सय ८२ घर डुबानमा परेका छन् भने एक सय ३८ जनालाई उद्धार गरिएको छ ।
काठमाडौंमा खोला किनारका बस्ती हरेक वर्ष बाढीको चपेटामा पर्छन् । खोला क्षेत्र अतिक्रमणमा परेकाले यो क्षेत्र डुबानमा पर्ने गरेको जानकारहरु बताउँछन् ।गोंगबु, मैतीदेवी र रातोपुल क्षेत्रमा पनि डुबान छ । पानीको सतह सडकसम्मै आएपछि नदी किनारका सडकहरु अवरुद्ध भएका छन् । अन्यत्र पनि सडकमा भरिएको पानीका कारण ट्राफिक ब्यवस्था प्रभावित भएको छ । बाढी र डुबानबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

काठमाडौं अति भारी वर्षा मापन भएको मौसमविद मिनकुमार अर्याल बताउँछन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार त्रिभुवन विमानस्थल क्षेत्रमा बिहानपख ३ बजेदेखि ६ बजेसम्मको अवधिमा १ सय ५ मिलिमिटर वर्षा मापन भएको छ ।काठमाडौंमा आइतबार राति दुई बजेदेखि पानी पर्न थालेको थियो । अहिले पनि वर्षा जारी छ । पानी पर्ने क्रम अझै केही समय जारी रहने पूर्वानुमान गरिएको छ ।हाल देशमा उत्तर पश्चिम बंगालको खाडीमा अवस्थित न्युनचापीय क्षेत्रको प्रभाव छ । यही प्रभावका कारण लुम्बिनी, वाग्मती, गण्डकी र २ नं प्रदेशका धेरै स्थानहरुमा मेघगर्जनसहित मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।