एमसीसी बारे पार्टीको धारणा के हो ? एमाले सांसदले बैठकमै थर्काए ।

0
843

नेकपा एमालेका सांसदहरुले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे पार्टीको धारणा मागेका छन् । प्रतिनिधिसभाको अधिवेशन सुरु हुनुपूर्व बसेको संसदीय दलको बैठकमा सांसदहरुले एमसीसीबारे पार्टीको धारणा मागेका हुन् । कतिपय सांसदहरुले जनताले ‘नो एमसीसी’ भनेकाले त्यसअनुसार निर्णय गर्नुपर्ने बताए ।

सांसद निरुदेवी पालले भनिन्, ‘जनताले नो एमसीसी भनेका छन्, त्यसलाई बुझेर लागू हुनुपर्छ भनेर नजाऔं ।’सांसदहरु विमला विक, जुली महतो लगायतले पनि जनताको भावना अनुसार निर्णय हुनुपर्ने बताएका छन् । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबल भएपछि एमालेले तत्काल निर्णय गर्ने बताएका छन् । सरकारमा रहेका दलहरुबीच एमसीसीबारे एकमत नभएको भन्दै पौडेलले एमालेमा समस्या नरहेको दावी गरे ।

बुधबार बुटवलमा प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा पौडेलले एमसीसीबारे एमालेले पहिल्यै निर्णय गरेर नबसेको बताए । ‘पहिले यो विषय संसदमा आओस् न, हामी राष्ट्रको हितलाई केन्द्रमा राखेर तत्काल निर्णय गर्छौं,’ पौडेलले भने, ‘बरु सरकार नै यसबारेमा रंगिबिरंगी छ ।’ पौडेलले लुम्बिनीमा एमाले विभाजित नभएको बताएका छन् । ‘विभाजनको कथित प्रयासलाई नाकाम बनायौं,’ पौडेलले भने, ‘कथित विभाजन सर्पले काँचुली फेरेजस्तै हो ।’कानून बमोजिम एमाले विभाजन गर्न नसकेपछि अध्यादेश ल्याएर विभाजन गरिएको पौडेलले बताए । ‘४० प्रतिशतलाई २० प्रतिशतमा झारेर एमाले विभाजन गर्ने कोशिश गरिएको छ,’ पौडेलले भने, ‘म प्रधानमन्त्री देउवालाई चुनौतिका साथ भन्न चाहन्छु हिम्मत छ भने अध्यादेशलाई निरन्तरता दिनुस् ।’ तर सरकारले केही हप्तापछि अध्यादेशलाई निस्कृय बनाउने दावी उनले गरे ।