एमालेको अबरोध पछि संसद बैठक २ दिनका लागि स्थगित ।

0
513

प्रतिनिधिसभाको बैठक भदौ २९ गतेसम्मका लागि स्थगित भएको छ । आइतबारको बैठकमा नेकपा एमालेका सांसदले नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले भदौ २९ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् । आफूले १४ सांसदलाई गरेको कारबाहीलाई सभामुखले मान्यता नदिएर पार्टी फुटाउन सहयोगी भएको भन्दै एमालेले संसदमा विरोध प्रदर्शन गरेको हो ।

आइतबार प्रतिनिधिसभाको दुई पटक बसेको बैठक दुबै पटक एमाले सांसदको नाराबाजीका कारण अवरुद्ध भयो । एमाले सांसदहरुले संसदीय मर्यादा कायम गर, पदीय मर्यादा कायम गर, पार्टी फुटाउने षड्यन्त्र बन्द गर लगायतका नारा लगाएका थिए । सभामुख सापकोटाले एमालेलाई संवादमार्फत समस्या समाधान गर्न आह्वान गरेका छन् । उनले एमालेको नाराबाजीका कारण संसदमा जनचासोको विषय राख्न पाउने अरु सांसदको हक हनन भएको भन्दै पटक पटक संसद चलाउन दिन आग्रह गरे । तर एमाले सांसदले लगातार नाराबाजी गरेपछि सापकोटाले दुई दिनका लागि बैठक स्थगित गरेका हुन् ।

त्यस अघि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटा नेकपा एमाले फुटाउने षडयन्त्रमा लागेकाले संसद अवरोध जारी राख्न आफ्नो पार्टीका सांसदलाई निर्देशन दिएका छन् ।

आइतबार संसदीय दलको बैठकलाई सम्बोधन गर्दै पुर्व प्रधानमन्त्री समेत रहेका ओलीले संसदीय मर्यादाभित्र रहेर संसद अवरोध जारी राख्न निर्देशन दिएका हुन् ।‘अवरोध गर्नुपर्छ । बढाइरहनुस्, यो जारी राख्नुस्’, ओलीले भने, नारा लगाउने र बेल घेर्ने भन्दा बाहिर नजानुुस् ।’ उनले शुक्रबार केही सांसदले सभामुखलाई माइकले हान्ने योजना रहेको भनेर बोलेको सुनेको भन्दै त्यस्तो योजना नभएको दावी गरे ।सभामुखले संसद सुचारुभएको घोषणा गर्ने बित्तिकै एमाले सांसदहरुले रोष्टम धेराउ गरी नाराबाजी गरेपछि सभामुख सापकोटाले १५ मिनेटको लागि बैठक स्थगित गर्नुभएको थियो ।