आफ्नो सम्पत्तिबारे दिपक मनाङे बेखवर,मन्त्रीको भत्ताले चिया खान नपुगेको गुनासो ।

0
479

गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री मनाङेले मन्त्रीको तलब भत्ताले चिया खान समेत नपुग्ने बताएका छन् । मन्त्री नियुक्त भएको ९० दिन पुगेको अवसरमा खेलकुदमन्त्री मनाङले आइतबार पत्रकार सम्मेलन गरेर राज्यले दिने सुबिधाले चिया आन नपुगेकोले अब व्यापार गर्ने सोच बनाएको सुनाए । ५८ सालदेखि व्यापार छाडेको भन्दै उनले भने, ‘अब फेरि व्यापार गर्ने ट्राइ गरिरा’छु । भात त खानुपर्‍यो हेर्नुस् । यो पैसाले त चिया खान पनि पुग्दैन ।’

तर सम्पत्ति विवरण कहिले सार्वजनिक गर्ने भन्ने प्रश्नको प्रष्ट जवाफ भने दिएनन् । ‘म त गइहालें । तपाईंहरु एकैछिन बस्दै गर्नुस्’ भन्दै उनी बाहिरिएका थिए । गण्डकी प्रदेशका मुख्यमन्त्री र अरु मन्त्रीले सम्पत्ति विवरण सार्वजनिक गरे, तर युवा तथा खेलकुदमन्त्री दीपक मनाङेले गरेका छैनन् । भ्रष्टाचार निवारणसम्बन्धी ऐन, २०५९ अनुसार पदभार सम्हालेको २ महिनाभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने हो, तर मनाङले अझै बुझाएका छैनन् ।

कार्यक्रमको अन्तिममा उनलाई सोधियो, ‘सबै मन्त्रीले सम्पत्ति विवरण बुझाइसके, तपाईंले किन बुझाउनु भएन ? मन्त्री मनाङले भने आफूसँग के छ ? के छैन भन्ने नै प्रष्ट नभएको बताए । ‘मेरो सम्पत्तिबारे म आफैं कन्फ्युज छु,’ उनले भने, ‘जम्मै पहिलेको छोराछोरी, श्रीमतीको नाममा राखिदिइसकेको छु । मेरो भनौं भने मलाई एक आना जग्गा दिने पनि होइनन् ।’

कुनै समय गुण्डा नाइके भनेर समेत चिनिएका मनाङेले ‘केटा’हरुलाई थुप्रै लगानी गरिदिएको तर, त्यताबाट फिर्ता नआएको उनले बताए । ‘पहिले बिजनेस गर्दा केटाहरुलाई लगानी गर्देको छु । धेरै यस्तो पैसा छ, जुन मसँग आएको छैन,’ उनले भने, ‘मेरो नाममा केही छैन । आउनेवाला छ भनेर लेख्न पनि गाह्रो २०५६ सालभन्दा अगाडि जोडेको केही सम्पत्ति रहेको, तर त्यसमा पनि मुद्दा मामिला परेको उनले बताए । ‘जसलाई मैले बैना हान्यो, बैना गर्ने मान्छे पनि ठगै रैछ, त्यस्तो मुद्दावाला ३,४ वटा प्रोपर्टी छ,’ उनले भने, ‘त्यो प्रोपर्टी पनि अहिलेको होइन, पहिलेकै दामवाला हो । एक–डेढ लाखवाला । मनाङेले २०७० सालमा अवैध सम्पत्ति जोडेको आरोपमा सम्पत्ति शुद्धीकरणको मुद्दा खोपेका थिए । २०७४ सालमा विशेष अदालतबाट सफाइ पाएका उनी प्रहरीले ‘रिस’ गरेर मुद्दा हालेको बताउँछन्