जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले प्रमुख दलहरुबीच राष्ट्रिय सहमति जुटाएर एमसीसी पास गर्नुपर्ने बताएका छन् । जनता समाजवादीले सिन्धुलीमाढीमा मंगलबार आयोजना गरेको कार्यक्रममा भट्टराईले एमसीसी सहयोगको विरोध हुनु बडो दुर्भाग्यपूर्ण भएको बताए ।
उनले भने, ‘म नै प्रधानमन्त्री भएको बेलामा एमसीसी प्रक्रिया सुरु भएको थियो । त्यसपछि बनेका सबै सरकारले यसलाई अगाडि बढाएका हुन् । अहिले आएर एमसीसीमा विवाद गर्नु बडो दुर्भाग्यपूर्ण भएको छ ।’उनले राष्ट्रिय सहमति गरेर यो अनुदान सहयोग लिएर जाँदा नै नेपाललाई उपयुक्त हुन्छ भन्ने आफ्नो पार्टीको धारणा रहेको बताए । उनले भने,‘फेरि हामी कहाँ त जसले जे गरेपनि शंकैशंकाले लंका खान्छ भने जस्तो सबै थोकमा विरोध गर्ने चलन छ ।
सुरुदेखि भएका सम्झौता यस्तै भएका छन् ।’एमसीसीलाई लिएर यतिधेरै बहस र विवाद गर्नु आवश्यक नभएको उनले बताए । उनले एमसीसी संसद्बबाट अनुमोदन गर्ने आवश्यकता नभएको तर यो ठूलो सहयोग भएकाले हाम्रैतर्फबाट संसद्बबाट अनुमोदन भन्ने राखिएकाले राष्ट्रिय सहमति आवश्यक भएको बताए । एता विप्लव नेतृत्वको नेकपा लगायत २२ दलले एमसीसी कुनै पनि हालतमा पास गर्न नहुने बताउँदै सोमबार मात्रै राजधानीमा शत्तिः प्रदर्शन गरेका थिए भने अभियन्ताहरुले लामो समय देखि सडक संघर्ष गर्दै आउका छन् ।