पखालाको औषधि दिन नसक्ने स्वास्थ्य राज्यमन्त्री कहाँ छन् ?

0
529

सुर्खेतका स्वास्थ्य संस्थाहरुमा औषधि अभाव हुन थालेको छ । यहाँका अधिकांश स्वास्थ्यचौकीमा पखालाका बिरामीलाई दिइने जिंक चक्कीको अभाव भएको छ । छ महिनायता जिंक चक्कीको अभाव रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् । स्वास्थ्यचौकी आउने बिरामी जिंक चक्की नहुँदा चर्को मूल्य तिरेर निजी स्वास्थ्य संस्थामा उपचार गर्न बाध्य छन् ।

सुर्खेतको रामघाटस्थित स्वास्थ्यचौकीका वरिष्ठ स्वास्थ्य सहायक धिरेन्द्र घर्तीले पखलाका बिरामीलाई खुवाउने जिंक चक्कीको अभाव रहेको बताए । ‘पाँचरछ महिनादेखि स्वास्थ्यचौकीमा जिंक चक्कीको अभाव छ,’ उनले भने, ‘अन्य औषधिसमेत अभाव भएको छ ।’स्वास्थ्यचौकीमा आइरन चक्की र परिवार नियोजनका साधनको समेत अभाव हुने गरेको छ । यस्तै भेरीगङ्गास्थित छिन्चु स्वास्थ्यचौकीमा समेत जिंक चक्की अभाव भएको वरिष्ठ स्वास्थ्य सहायक गोकर्ण बुढाले जानकारी दिए ।

एक वर्षदेखि जिंक चक्कीको अभाव रहेको उनले बताए । जिंक चक्कीको अभाव भएपछि बिरामी मर्कामा परेका छन् । सामान्य भन्दा सामान्य औषधिको ब्यबस्था गर्न नसक्ने स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ कहाँ के गर्दै छन् ? सुर्खेतका स्थानियहरु प्रश्न गर्न थालको छन् । परिवार नियोजनका साधन मात्रै हौइन अत्यावश्यक औषधि समेत अभाव भएको महिनौ बितिसक्दा समेत स्वास्थ्य मन्त्रालय र मन्त्रीले चासो नदिएको स्थानियको गुनासो छ । अब स्वास्थ्य मन्त्रालय र मन्त्री हराएको सुचना टाँस गर्न मात्र बाँकी रहेको एक स्थानियले बताए ।

स्वास्थ्यचौकीले उपलब्ध गराउने ४२ प्रकारका निःशुल्क औषधिमध्ये आधाजसो मात्र स्वास्थ्यचौकीमा उपलब्ध हुने गरेको उनले बताए । त्यसैगरी स्वास्थ्यचौकीमा ग्याष्टिक, छाला, कानको समस्या भएका बिरामीलाई उपलब्ध गराइने औषधिसमेत अभाव भएको रहेको बुढाले बताए । रामघाट र छिन्चुमा मात्र होइन जिल्लाका अधिकांश स्वास्थ्यचौकीमा औषधिको अभाव भएको छ । छिन्चु स्वास्थ्यचौकीका बरिष्ठ स्वास्थ्य सहायक बुढाले यहाँ अभाव हुँदा कतिपय औषधि स्वास्थ्य संस्था आफैँले खरिद गर्ने गरेका छन् ।

यस्तै भरीगङ्गा स्वास्थ्य शाखाले सङ्घबाट खरिद भएर आउने औषधि समयमा नआउँदा औषधिको अभाव भएको जनाएको छ । अति आवश्यक औषधि स्वास्थ्यचौकीमा अभाव नभएको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक अर्जुन चपाईले बताए । ‘केन्द्रले खरिद गरेर पठाउने नौ प्रकारको औषधि अभाव भएको छ,’ उनले भने, ‘जिंक चक्कीका साथै परिवार नियोजनका साधनको समेत अभाव छ ।’ जनस्वास्थ्य कार्यालयलाई औषधि अभावको विषयमा पटक पटक जानकारी गराइएको उनले बताए । यसैबीच केही दिनअघि सुन्दर नेपाल संस्थाको पारस्परिक जवाफदेहिता परियोजनाअन्तर्गत गठन गरिएको निगरानी समूहले स्वास्थ्यचौकीको अनुगमन गरेको थियो । अनुगमनका क्रममा स्वास्थ्यचौकीहरुमा अत्यावश्यक औषधिको अभाव रहेको पाइएको परियोजनाका कार्यक्रम संयोजक याम थापाले जानकारी दिए ।