तपाईंले हवाईजहाज आकाशमा उडेको र रनवेमा गुडेको त देख्नु भएको छ तर कुनै पुलमुनि फसेको त पक्कै देख्नु भएको छैन होला । तर भारतको राजधानी नयाँदिल्लीमा एउटा जहाज पुलमुनि फसेको भिडियो भाइरल भएको छ । भारतको राष्ट्रिय ध्वजाबाहक एयर इण्डियाको जहाज दिल्ली(गुरगाउँ राजमार्गको एक ओभर हेड ब्रिज आकाशे पुलमुनि अड्किएको हो ।
यो स्क्रेप्ड अर्थात् कवाड भइसकेको जहाज हो र एयर इण्डियासँग यसकोसम्बन्ध अब छैन । बिक्री भइसकेको यो जहाजलाई इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट कतै लैजाने क्रममा आकाशे पुलमुनि फसेको हो । भारतका एक पत्रकार अशोक राजले ट्वीटरमा सार्वजनिक गरेको भिडियोमा सो जहाजका पंखा देखिंदैन ।
त्यसको नजिकबाट गाडीहरु ओहोरदोहोर गरिरहेका देखिन्छन् ।यो भिडियो ट्वीटर र युट्युबमा हजारौंले हेरेका छन् । भिडियो हेर्नेहरुले विभिन्न प्रतिक्रिया पनि पोष्ट गरेका छन् । कतिपयले यो जहाज कसरी फस्यो भनेर जिज्ञासा राखेका छन् भने केहीले विमान लैजानुभन्दा अगाडि त्यसको रुट राम्रोसँग जाँच्नुपर्थ्यो भनेका छन् ।कतिपयले भने यो घटनालाई पश्चिम बंगालमा सन् २०१९ को घटनासँग तुलना पनि गरेका छन् । त्यतिबेला पनि एउटा कवाडी जहाज पुल मुनि फसेको थियो ।अर्का एक ट्विटर प्रयोगकर्ताले जहाज लरीमा लोड गरेर लैजाँदै गरेको भिडियो पोष्ट गर्दै यो घटना ३ अक्टोबरको भएको बताएका छन् ।