संघियता थेग्नै नसक्ने महङगो भयो : डा सुरेन्द्र केसी ।

0
672

राजनीतिक विश्लेषक प्रा डा सुरेन्द्र केसीले प्रमुख राजनीतिक दल र यसका शीर्ष नेताहरु लोकतन्त्रको आचरणअनुसार चल्न नसकेको टिप्पणी गरेका छन् । उनले लोकतन्त्र बलियो बनाउनको लागि योग्यताक्रम, जवाफदेहीता, पारदर्शीता, उपयुक्त व्यक्तिलाई उपयुक्त स्थान, पुरस्कार र दण्डको व्यवस्था हुनुपर्ने बताए ।

तर, नेपालमा पछिल्लो समय योग्यताभन्दापनि आफ्नो मान्छे भर्ती गर्ने, नियुक्ती गर्ने परिपाटी देखिएको भन्दै उनले गुनासो पोखे । रिपोर्टर्स क्लब नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाको सय दिन पुगेको अवसरमा बुधबार आयोजना गरेको विशेष कार्यक्रममा बोल्दै डा केसीले नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले युवाहरुको पार्टीमा पकड नहुनु समस्या हो भनेर गरेको टिप्पणीप्रति असहमति जनाउँदै त्यसो हो भने कांग्रेसको आगामी महाधिवेशनमा सबै युवा मिलेर एक जनालाई सभापति बनाए भयो नि भन्ने सुझाव पनि दिए ।

उनले यो सरकारको बढिमा कार्यकाल १३ महिना भएको बताए । तर, यसअघि राजदूत बनाएर पठाएकाहरुलाई धमाधम फिर्ता बोलाउने काम गरिएको भन्दै उनले यसरी कसरी राम्रो सन्देश जान्छ त ? भन्दै प्रश्नसमेत गरे । उनले भने,‘म त गठबन्धनको कार्यशैली हेर्दा फेरि केपी ओलीको पूनरावृत्ति हुने देख्छु ।

अबको निर्वाचनपछि सरकार हाक्ने पालो कांग्रेसको थियो । अहिले त कस्तो भयो भने प्रतिपक्षीमा बस्ने सत्तामा गयो । सत्तामा बस्ने प्रतिपक्षमा गयो ।’पछिल्लो समय मुलुकमा जेठान काण्ड भएको उल्लेख गर्दै फेरि सम्धी काण्ड हुन लागेको सुनाए । उनले देश बनाउको लागि र विधिमा हिँडाउनको लागि लोकतन्त्रको चुरो समात्नुपर्ने सुझाव दिए ।

उनले भने,‘लोकतन्त्रको चूरो कुरा भनेको योग्यताक्रम, जवाफदेहीता, पारदर्शीता, उपयुक्त व्यक्ति उपयुक्त स्थान, पुरस्कार र दण्डको व्यवस्था हुनुपर्छ । मिनिमम कुरामा मतएकता चाहिन्छ। सामाजिक सद्भाव र सुशासनमा मत एकता हुनुपर्छ ।’

अहिले संघीयता महंगो भएको भनेर जनगुनासो आएको पनि उनले स्मरण गराए । उनले भने,‘हामीले प्रणालीको लागि लडेको ७१ वर्ष भयो, तर के भयो त ? हेर्नुहोस त नेकपाले बहुमत पायो, तर बहुमत कसले भाँडयो ? नेपाली जनताले त होईन नि । लोकतन्त्र भन्दैमा कहाँ नाङ्गै नाच्न पाईन्छ ?

अहिले मुलुकमा १७ खर्बको ऋण रहेको पनि उनले तथ्यांक सुनाए । उनले भने,‘हामीसँग साँढे १६ खर्बका बजेट छ । ११ खर्बको त व्यापार घाटा छ । ६ खर्बको बेरुजु छ । यस्तो अवस्थामा कसरी अघि बढ्न सक्छौं त ? आजको प्रश्न त यो हो नि । सरकारी तथ्यांकअनुसार ५२ लाख युवा वैदेशिक रोजगारीमा छन् । यो सरकारी आँकडा हो, मलाई एक करोडको हाराहारीमा होलान जस्तो लाग्छ । मुलुकलाई वैदेशिक ऋणको दुश्चक्रमा राख्नुहुँदैन् ।’