प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका प्रभावशाली नेता डा चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवा सिंगो पार्टीको नेता बन्न नचाहेको टिप्पणी गरेका छन् । उनले सभापति देउवा सानो गुटमा बसेको आरोप लगाए । उनले भने,‘उहाँ सानो गुटमा बस्नुभयो, उहाँको सानो ईन्जिन छ, यसले सही ड्राईभ गर्न सक्दैन् ।
यो समस्या प्रचण्ड र ओलीमा पनि छ।’ सबै दलका नेता खासगरी दलका नेता बन्न सकेका छैनन् । यी नेताहरुले देश बनाउन सक्दैनन् । यी नेताहरु विदा नहुञ्जेलसम्म देश बन्दैन् । उहाँहरुबाट मुलुक बन्दैन । बरु परिवार बन्ला । नेपालको पोलिटिक्सको डिएनएमा नै खराब छ उनले भने।’
रिपोर्टर्स क्लब नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाको सय दिन पुगेको अवसरमा बुधबार आयोजना गरेको कार्यक्रममा बोल्दै नेता भण्डारीले अहिले मुलुकको भूगोलको सुरक्षा गर्न सकेका छौं कि छैनौं ? यो महत्वपूर्ण कुरा भएको पनि सुनाए ।
उनले नेपालमा कानूनले काम गर्न नसकेको पनि टिप्पणी गरे । उनले भने,‘कानूनले व्यक्तिको मुख हेर्दा धेरै गलत गर्नेहरु राजनीतिमा प्रवेश गरे । यो नै ठूलो रोग हो । राजनीतिमा पनि नयाँ पुस्ताले प्रवेश गर्न सकेका छैनन् । हामीले राष्ट्रलाई हेरेर योजना बनाउन सकेनौं ।
शेरबहादुर देउवाजीको सय दिनको उपलब्धिको कुरा गर्दा तीन महिनासम्म मन्त्रिमण्डललाई हामीले पूर्णता दिन सकेनौं । सय दिनमा तीन सय जना काम नगर्ने ठेगेदारहरु थुनिनुपर्दथ्यो । क्यान्सर, मिर्गोला र स्पाईनल कडको विरामीलाई पाँच हजार दिने व्यवस्था गरिएको छ । यो त राम्रो कुरा हो ।
उनले हिजो देउवा र गिरिजाबाबुबीच द्धन्द्ध हुँदा देउवाले पार्टी फुटाएको पनि स्मरण गराए । अहिले सदन किन चलेन ? भन्दै उनले प्रश्न पनि गरे । सर्वदलीय बैठकमा एमाले आएन । हिजो देउवाजी त सर्वदलीय बैठकमा जानुभएको थियो त । सदन नचल्नु भनेको दुःखद् कुरा हो । यदि पार्लियामेन्ट चल्न दिईएन भने नेपालको डेमोक्रेसी गुम्नपनि सक्छ। कांग्रेसको यो महाधिवेशनबाट नयाँ नेतृत्व आउनुपर्छ ।’