M C C नेपालको कानुन भन्दा माथी छैन चाँडै संसदबाट पास गर्छौ : देउवा ।

0
381

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी अनुदान सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसी पारित हुने बताएका छन् । देउवाले एमसीसी नेपालको कानून भन्दा माथि नरहेको तर यसबारे झुठा प्रचार गरिएको भन्दै संसदबाट पारित गर्ने बताए ।

बाढी पहिरोबाट भएको क्षतिको निरीक्षण गर्न सुदूरपश्चिम प्रदेश पुगेका देउवाले आज बिहान धनगढीमा आयोजना गरिएको पत्रकार सम्मेलमा एमसीसी अनुदानमा आधारित परियोजना भएको बताउँदै नेपालकै कानून मातहत हुने दाबी गरे ।

‘एमसीसीको बारेमा झूठा प्रचार गरिएको छ,’ देउवाले भने, ‘विश्व बैंक र एसियाली विकास बैंकले दिने ऋण सहयोगमा नेपालको कानूनभन्दा अन्तर्राष्ट्रिय कानून लागू हुन्छ । एमसीसी त अनुदान हो । ऋण होइन । उनीहरुले नै यो नेपालको कानून भन्दा माथि नरहेको स्पष्ट पारिसकेका छन् । एमसीसी पास हुन्छ ।’

बिहीबार सुदूरपश्चिमका पहाडी जिल्ला र कञ्चनपुरमा बाढीपहिरोबाट भएको क्षतिको स्थलगत निरीक्षण गरेर फर्किएका देउवा शुक्रबार कैलालीको टीकापुर जाँदैछन् । त्यहाँ बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेर शुक्रबार नै उनी काठमाडौं फर्किने कार्यसूची छ ।