बाग्मती सरकार ढल्यो,मुख्यमन्त्री शाक्यले गरिन् राजिनामा ।

0
588

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामाको घोषणा गरेकी छन् । प्रदेशसभा बैठकमा आफूले पेस गरेको विश्वासको मतमाथि भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले राजीनामाको घोषणा गरिन् ।

उनले छोटो समयमा आफूलाई केही उपलब्धिमूलक काम गर्न सबै पक्षबाट सहयोग भएको भन्दै सबैलाई धन्यवादसमेत व्यक्त गरिन् । प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मत विभाजन हुनु अघि उनले राजीनामा दिएकी हुन् ।

शाक्य बागमती प्रदेशमा एकल बहुमतमा रहेको दलको नेताको रुपमा भदौ २ गते मुख्यमन्त्री नियुक्त भएकी थिइन् । तर उनको दल नेकपा एमाले विभाजित भई नेकपा एकीकृत समाजवादी बनेपछि उनले संविधानअनुसार एक महिनाभित्र विश्वासको मत लिनुपर्ने थियो ।

शाक्यले विश्वासको मतसम्बन्धी प्रस्ताव असोज २४ गते प्रदेशसभा सचिवालयमा पेश गरेकी थिइन् ।त्यसपछि उक्त प्रस्तावमा कात्तिक ४ गते प्रदेशसभामा छलफल भएको थियो । त्यसपछि मतविभाजनका लागि बुधबारसम्मका लागि प्रदेशसभा बैठक स्थगित गरिएको थियो । बागमती प्रदेशसभामा १०९ सदस्यमध्ये मुख्यमन्त्री शाक्यलाई नेकपा एमालेका ४३ सांसदको समर्थन छ । नेकपा एमालेका ५६ प्रदेशसभा सदस्यमध्ये १३ जनाले नेकपा एकीकृत समाजवादी रोजेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी हुन् ।