डा सुनिल शर्माले गरे खेलाडीलाई प्रोत्साहन, क्रिकेट खेलाडीलाई १५ लाख दिने घोषणा ।

0
1305

नेपाली काँग्रेसका सांसद डा सुनिल शर्माद्धारा सञ्चालीत नोबेल मेडिकल कलेजले नेपालले आईसीसी टी–‍२० विश्वकपमा स्थान बनाउन सके १५ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ ।

नेपालमा क्रिकेट खेलको विकासमा सानो भए पनि सहयोग पुगोस् र खेलाडीमा हौसला प्रदान होस् भनेर सो प्रोत्साहन रकमको व्यवस्था गरिएको सांसद डा शर्माले बताउनुभयो ।

अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा भोगेन्द्र प्रसाद उपाध्यायद्वारा आज जारी प्रेस विज्ञप्तिमा राष्ट्रिय क्रिकेट टिम र अफिसियलाई एकमुष्ट रू १५ लाख दिने उल्लेख गरिएको छ । अस्पतालले उक्त प्रतियोगिताको फाइनल खेलमा पनि नेपाल विजयी भएमा थप रू पाँच लाख प्रदान गर्ने विज्ञप्तिमा जनाएको छ ।

नोबेल मेडिकल कलेज टिचिङ अस्पतालका पूर्वअध्यक्ष तथा प्रबन्ध निर्देशक र हाल मोरङ क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य डा सुनिलकुमार शर्माको अगुवाइमा उक्त अस्पतालले खेलाडीहरुलाई निःशुल्क एवम् सहुलियत शुल्कमा स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको पनि सो विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान र माथिल्लो मूलपानी क्रिकेट मैदानमा भइरहेका उक्त प्रतियोगितामा नेपाल सेमिफाइनलमा पुगेको छ । नेपालले पहिलो खेलमा सिङ्गापुरलाई आठ विकेटले पराजित गर्दै विजयी भएको थियो भने दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराएउँदै सेमिफाइनलमा पुगेको हो ।

अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने ट्वान्टी २० विश्वकपको अन्तिम छनोटमा नेपालसहित आठ टोलीले प्रतिस्पर्धा गरिरहेका छ्न । जसमा प्रतियोगिताबाट शीर्ष दुई टोली विश्वकपको लागि छनोट हुनेछन् ।

नेपाल समूह ‘ए’मा परेको छ । नेपालको समूहमा सिङ्गापुर, मलेसिया र ओमान छन् । त्यस्तै समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स ९युएई०, हङकङ, बहराइन र कुवेत छन् । नेपालले अब आफ्नो तेस्रो खेल भोलि ओमानसँग खेल्नेछ ।