भाद्र १५, काठमाण्डौ- कांग्रेसको आसन्न महाधिवेशन स्थगित गरिएको छ । असोज २ देखि ५ गतेसम्म काठमाडौंमा हुने भनिएको महाधिवेशन मंगलबारको केन्द्रीय समिति बैठकले स्थगित गरेको पार्टी प्रवक्ता दिलेन्द्रप्रसाद बडुले बताए ।
भदौ १७ देखि पार्टीको तल्लो निकायको अधिवेशन सुरु हुने तय गरिएको थियो । महाधिवेशनको नयाँ मिति संविधान संशोधन भएपछि वा नयाँ संविधान जारी भएपछि मात्र तोकिने बताइएको छ ।
अन्तरिम संविधानको व्यवस्थाअनुसार नयाँ प्रत्येक ५ वर्षमा पार्टीको महाधिवेशन हुनुपर्छ । ५ वर्षभित्र महाधिवेशन गर्न नसकेपछि कांग्रेसले अन्तरिम संविधान संशोधनमा अन्य पार्टीलाई सहमत बनाउने प्रयास गरिरहेको छ ।
तराई मधेसमा जारी आन्दोलन र प्रर्दशनमा उठेका मागलाई वार्ताबाट समाधान गर्न कांग्रेसले अग्रता लिने पनि निर्णय गरेको छ । तर, शान्ति सुव्यवस्था खल्बल्याउने गरी भएका हिंसात्मक गतिविधिलाई भने कडाईका साथ नियन्त्रण गर्न सरकारसँग आग्रह गरेको छ ।
कांग्रेसका निर्णयहरु
१.संविधान निर्माणमा पार्टी केन्द्र व्यस्त रहनु परेको विशेष परिस्थितिका कारण नेपाली कांग्रेसको गाउँ, नगर वार्ड, नगर, क्षेत्र, जिल्ला अधिवेशनका पूर्व निर्धारित कार्यक्रमहरु स्थगित गरिएको छ । अधिवेशन सम्बन्धी कार्यक्रम केन्द्रीय कार्य समितिको बैठकले पछि निर्णय गरे बमोजिम हुनेछ ।
२.विशेष परिस्थितिका कारण ५ वर्ष भित्रमा पार्टीको केन्द्रीय पदाधिकारीको निर्वाचन “महाधिवेशन” हुन नसकेमा बढीमा ६ महिना थप गर्न सकिने व्यवस्था नेपालको अन्तरिम संविधान र संविधानसभाबाट बन्न लागेको नयाँ संविधानमा व्यवस्था गर्ने । साथै, पार्टीको विधानमा पनि यो व्यवस्था गर्ने ।
३.संविधान सभामा प्रस्तुत भएको संविधान विधेयक उपर संशोधन प्रस्ताव प्रस्तुत गर्दा अन्य दलहरुसँग सल्लाह गरी दुई तिहाई पु¥याउने वातावरण तयार गरेर मात्र गर्नु पर्नेछ । यसका लागि पार्टी नेतृत्वलाई जिम्मेवारी दिने । संशोधन प्रस्तुत गर्दा प्रमुख सचेतकले सहमतिमा रहेका दलहरुसँग मिलेर गर्ने । संविधान निर्माण प्रकृयालाई अविलम्व टुङ्गोमा पु¥याई संविधान घोषणा गराउने कार्यमा एकतावद्ध भई लाग्न नेपाली कांग्रेस संसदीय दलका सबै सदस्यलाई निर्देश गर्छ ।
४.कैलालीको टिकापुर लगायत देशका विभिन्न ठाउँमा घटेका हिंसात्मक घटनाका प्रति नेपाली कांग्रेस खेद एवं दुःख प्रकट गर्दछ । हिंसात्मक घटनामा परि ज्यान गुमाएका नाबालक, प्रहरी अधिकृत लगायत सबैमा श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछ । घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारको बन्दोवस्त गर्न एवं तोडफोड र आगजनीबाट भएको भौतिक क्षतिको लागि आर्थिक सहयोग एवं राहत उपलब्ध गराउन सरकारसँग यो बैठक माग गर्दछ । कैलाली टिकापुरको घोर अमानवीय हिंसात्मक घटनाका अपराधीहरुमाथि कार्वाहीको लागि सरकारसँग माग गर्दछ ।
५.संविधान निर्माणका समग्र विषयवस्तु संविधानसभा भित्र छलफल गरेर प्रकृया बमोजिम टुङ्गोमा पुर्याउनु पर्दछ । संविधानसभाबाट बाहिर गएर संविधान निर्माणमा ठोस सहयोग पुर्याउन सकिन्न । यसैले संविधानसभा भित्र रहेका सबै राजनीतिक दल एवं सभासद्हरुलाई संविधानसभा भित्र रहेर संविधान निर्माणमा आफ्नो महत्वपूर्ण योगदान पु¥याउन सम्वद्ध सबै पक्षसँग नेपाली कांग्रेस आग्रह गर्दछ ।
६.देशका विभिन्न भागमा घटित भइरहेका अप्रिय घटना एवं हिंसात्मक गतिविधिहरुबारे नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ । तोडफोड, बन्द, हडताल, आगजनी जस्ता सर्वसाधारण जनतालाई दुःख, कष्ट हुने सबै गतिविधि रोक्न नेपाली कांग्रेस आग्रह गर्दछ । साथै वार्ताद्वारा समाधान खोज्न आन्दोलनरत सबै पक्षलाई नेपाली कांग्रेस आह्वान गर्दछ ।
७. समाजमा शान्ति, सद्भाव र एकता कायम गर्ने कार्यमा सहयोग पुर्याउन सबै राजनीतिक दल, मानव अधिकारकर्मी, पत्रकार, कानून व्यवसायी, प्राध्यापक, शिक्षक, राष्ट्र सेवक, चिकित्सक, नागरिक समाज, उद्योग व्यवसायी, युवा, विद्यार्थी, श्रमिक, विभिन्न पेशा एवं व्यवसायसँग आवद्ध संघ÷संस्था लगायत सबै दिदी बहिनी तथा दाजुभाईहरुसँग नेपाली कांग्रेस हार्दिक अपील गर्दछ ।
८.देशभर जनताको जीउ–धनको सुरक्षाको भरपर्दो एवं विश्वसनीय व्यवस्था गर्न नेपाल सरकारसँग यो बैठक माग गर्दछ ।
९.प्रा. डा. गोविन्द के.सी. विभिन्न माग राखी आमरण अनसनमा बस्नु भएको धेरै दिन व्यतित भईसकेको आजको स्थितिमा तत्काल वार्ताद्वारा समस्याको समाधान खोज्न यो बैठक सरकारलाई अनुरोध गर्दछ