बिदेशीले दिएको भिक्षाले देश चल्दैन ः मन्त्री पण्डित

0
545
सामान्य प्रशासन मन्त्री लाल बाबु पण्डित

काठमाडौँ, १९ भदौ । निजामती सेवा दिवस–२०७२ को सन्दर्भमा आज  विभिन्न तहमा रहेर कार्यरत करिब ३५ निजामती कर्मचारीलाई सम्मान गरिएको छ ।

नेपाल युवा समाजद्वारा आज आयोजित कार्यक्रममा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा कृष्णचन्द्र पौडेल, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नगेन्द्रप्रसाद उपाध्याय र सत्यनिरुपण तथा मेलमिलाप आयोगका सचिव डा नरेन्द्रमान श्रेष्ठलाई सम्मान गरियो ।

सामान्य प्रशासन मन्त्री लाल बाबु पण्डित
सामान्य प्रशासन मन्त्री लाल बाबु पण्डित

यसैगरी, सहसचिवतर्फ विद्युत् विकास विभागका महानिर्देशक दिनेशकुमार घिमिरे, राजस्व अनुसन्धान विभागका महानिर्देशक बालकृष्ण घिमिरे, भवन निर्माण सम्भार डिभिजन कार्यालयका महानिर्देशक कृष्णराज पाण्डे, भूमिसुधार व्यवस्था कार्यालयका महानिर्देशक रोहितकुमार भट्टराई, महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका सहसचिव राधिका अर्याल, सिँचाइ विभाग भेरी बबई डाइभर्सन आयोजनाका प्रमुख शिवकुमार बस्नेत, कृषि व्यवस्था तथा व्यापार आयोजनाका प्रमुख डा इन्द्रकान्त झा र खाद्य तथा गुणनियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्ण सम्मानित हुनुभयो ।

यस्तै, कार्यक्रममा विभिन्न मन्त्रालय, विभागमा कार्यरत उपसचिव, शाखा अधिकृत र नायब सुब्बालाई पनि सम्मान गरिएको थियो ।

उहाँहरुलाई सम्मान गर्दै सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जो जहाँ भए पनि सबै नेपालीले राष्ट्रनिर्माणलाई मुख्य उद्देश्य बनाएर कार्य गर्ने हो भने मुलुकले छिट्टै मुहार फेर्ने बताउनुभयो ।

सरकारले दिएको अवसरलाई सदुपयोग गर्दै सचिवस्तरदेखि अन्य कर्मचारीले विभिन्न मुलुकका पीआर, ग्रीनकार्ड त्यागेको बताउँदै उहाँले भन्नुभयो– “अरुले दिएको भिक्षामा देश चल्दैन । मुलुकलाई समृद्ध बनाउने हो भने दत्तचित्त भएर मुलुक निर्माणमा लाग्नुपर्छ । राष्ट्रप्रति समर्पणको भाव भएका कर्मचारीले अझै ग्रीनकार्ड, पीआर त्याग्नुहुनेछ भन्ने मलाई विश्वास छ ।”

मन्त्री पण्डितले निजामती सेवा जनतामुखी हुनुपर्नेमा जोड दिँदै अब निजामती सेवालाई समयसापेक्ष बनाउनतर्फ सबै लाग्नुपर्छ भन्नुभयो ।

पूर्वमन्त्री शङ्करप्रसाद कोइरालाले सरकारको नेतृत्व गरिरहेका र जनताको नजरमा समेत निजामती सेवाको छवि उज्यालो हुन नसकेकाले निजामती सेवाको साख जोगाउन सबै कर्मचारीले इमान्दार भएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।