पाटाको ३८ औँ अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि

0
666

२० भदौ । पर्यटन प्रवद्र्धनका लागि सामूहिक रुपमा सहकार्य गर्ने उद्देश्यले प्यासिफिक एसिया ट्राभल एजेन्ट्स (पाटा) को ३८ औँ अन्तर्राष्ट्रिय सम्मेलन तथा (पाटा मार्ट) पर्यटन–व्यापार मेला आजदेखि बैङ्गलोरमा सुरु भएको छ ।

तीनदिने सो सम्मेलनमा एसिया, युरोपलगायत अन्य मुलुकका करिब दुई सय ५० ट्राभल र टुर व्यवसायी सहभागी भई आ–आफ्ना देशमा पर्यटन विकासका लागि नयाँ रणनीति र योजना बनाउने बारेमा छलफल र सम्पदाको प्रचारप्रसार गर्नेछन् । नेपालबाट पाटा च्याप्टर नेपाल, नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगमलगायत ट्राभल र टुरक्षेत्रका सङ्घसंस्थाले सो सम्मेलनमा सहभागिता जनाइ नेपालको पर्यटन प्रवद्र्धनका लागि आ–आफ्नो तयारी गरेका छन् ।

सम्मेलनको उद्घाटन भारतको कर्नाटक राज्यका मुख्यमन्त्री सिद्धरामैयाले गर्नु भएको थियो ।

नेपालले सम्मेलनमा आफ्नो स्टलबाट देशका आकर्षक पर्यटकीयस्थल र पर्यटकीय उत्पादन र सेवाका बारेमा प्रर्दशनी गर्नुका साथै पर्यटकीय क्षेत्रमा व्यापार तथा लगानीका बारेमा अन्तरक्रिया गर्ने पाटा, नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डेले बताउनुभयो ।

उहाँले यस पर्यटन मेलामा नेपालको सशक्तरुपमा प्रस्तुति रहने र भूकम्पपछि नेपालमा पर्यटन क्षेत्रमा परेको नकारात्मक असरलाई सुधार गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।