नेपालगञ्ज सामान्य बन्दै

0
634

नेपालगन्ज, २० भदौ । विगत २५ दिनदेखि लगातारको बन्दबाट आक्रान्त बनेका बाँके जिल्लाका उद्योगी, व्यापारी तथा यातायात व्यवसायीले आज आआप्नो व्यवसाय निर्वाध सञ्चालन गरेका छन् ।

स्थानीय प्रशासन कार्यालयले शुक्रबार राति ९ बजेदेखि नेपालगन्जलाई अनिश्चितकालीन निषेधित क्षेत्र घोषणा गरेर सुरक्षा व्यवस्थालाई थप कडा पारेपछि व्यवसायीले स्वतःस्फूर्त आआप्mनो व्यवसाय सञ्चालन गरेका हुन् ।

आज बिहानदेखि नै नेपालगन्ज, कोहलपुर र खजुरा क्षेत्रमा सबै पसल खुलेका छन् भने लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधनसमेत सञ्चालनमा आएका छन् ।

“हामीले बन्दका कार्यक्रम फिर्ता लिएका छैनौँ, चाडपर्वमा जनताको दैनिक आवश्यकतालाई दृष्टिगत गरी चुप भइदिएको मात्र हो, अब कसरी आन्दोलनका कार्यक्रम अघि बढाउने छलफल गरेर सार्वजनिक गरिने छ”– संयुक्त थरुहट मधेस सङ्घर्ष समितिका प्रवक्ता पशुपतिदयाल मिश्रको भनाइ छ ।

यता, प्रमुख जिल्ला अधिकारीले शान्ति, सुरक्षाको अवस्थालाई हेरी जिल्ला सुरक्षा समितिले सुरक्षा रणनीति बनाउने जानकारी गराउनुभएको छ ।