काठमाडौँ, २१ भदौ । नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए)ले हाल देशमा चलेको आन्दोलनलाई शान्त बनाउन नेपाल सरकारसमक्ष आग्रह गरेको छ ।
डिएलएले आज प्रेस विज्ञप्ति जारी गरी पूर्वदेखि पश्चिमसम्म तथा उत्तरदेखि दक्षिणसम्मका जनतालाई शान्त पार्ने जिम्मेवार सरकारको भएको जनाउँदै मधेसी जनताको मनमा रहेको आशङ्कालाई हटाउने दायित्व राजनीतिक दल र सरकारको भएकामा जोड दिएको छ ।
डिएलएले संविधान जारी गर्नुपूर्व पार्टी र नेताहरुलाई जनताका घरआँगनमा पुग्नुपर्ने सुझाव दिएको छ । डिएलएका अध्यक्ष गोपालकृष्ण घिमिरेद्वारा जारी विज्ञप्तिमा शान्ति र स्थायित्वबिनाको संविधान निरर्थक हुने उल्लेख गर्दै संविधानलाई स्वीकारयोग्य बनाउने वातावरण निर्माण गरी संविधान जारी गर्नु आवश्यक भएको स्मरण गराएको छ .