सप्तरी, २३ भदौ
प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएपछि सप्तरीको भारदह क्षेत्रमा स्थानीय प्रशासनले कर्फ्यु र निषेधाज्ञा लगाएको छ ।
आज दिउँसो २ बजेदेखि भोलि बिहान ६ बजेसम्मका लागि भारदह क्षेत्रमा कर्फ्यू र पूर्व–पश्चिम राजमार्गमा राति ९ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ ।
भारदहमा आज प्रहरीको गोली लागेर पोर्ताहा गाविस ३ निवासी ६० वर्षीय रामकिसुन राउतको घटनास्थलमै मृत्यु भएको थियो ।
स्थिति नियन्त्रण बाहिर जानसक्ने अवस्थालाई मध्यनजर गर्दै पूर्वमा कंकालिनी मन्दिरदेखि ५ सय मिटर पूर्वसम्म, पश्चिममा टेम्पो स्टेन्डदेखि ५ सय मिटर पश्चिमसम्म, उत्तरमा पोर्ताहा हटियादेखि ५ सय मिटर उत्तरसम्म र दक्षिणमा सकरदही पुलदेखि तीन सय मिटर दक्षिणसम्म कर्फ्यू आदेश जारी गरिएको सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले जानकारी दिनुभयो ।
सुरक्षा समितिको बैठकको निर्णय अनुसार सप्तरी जिल्लाको पूर्व(पश्चिम राजमार्गमा बुधबारै रातिदेखि निषेधाज्ञा आदेश समेत जारी गरिएको उहाले बताउनुभयो । राति ९ बजेदेखि बिहान ६ बजेसम्मका लागि पूर्वमा कोशी व्यारेजदेखि पश्चिममा बलान नदीसम्म निषेधाज्ञा जारी गरिएको र अर्को निर्णय नभएसम्म यो आदेश जारी रहने बताउनुभयो ।