काठमाडौं, भदौ २३ । स्वीडेनलाई हराउँदै अष्ट्रिया युरोकप फुटबलका लागि छनोट भएको छ ।
स्वीडेनमा मंगलबार राति भएको खेलमा अष्ट्रिय ४–१ ले विजयी भयो । जितसँगै अष्ट्रिय युरोकप फुटबलका छनोट हुने चौथो टोली बनेको छ ।
अर्को वर्ष फ्रान्समा हुने प्रतियोगिताका लागि इंग्ल्यान्ड, आइसल्यान्ड र चेक गणतन्त्र यसअघि नै छनोट भइसकेका छन् ।
यता, इंग्लिस फुटबल खेलाडी वायन रुनीले देशका लागि सर्वाधिक गोल गर्ने कीर्तिमान आफ्नो नाममा राखेका छन् ।
युरोकप फुटबल छनोटअन्तर्गत् मंगलबार राति भएको स्वीट्जरल्यान्डविरुद्धको खेलमा गोल गर्दै रुनी इंग्ल्यान्डका लागि ५० गोल गर्ने पहिलो खेलाडी बनेका हुन् । स्वीट्जरल्यान्डविरुद्धको खेल इंग्ल्यान्डले २–० ले जित्दा रुनीले ८६औं मिनेटमा पाएको पेनाल्टीको अवसरमा गोल गरेका थिए ।
यसअघि, इंग्लिस टोलीका लागि सर्वाधिक गोल गर्ने कीर्तिमान सर बबी चार्ल्टनको नाममा थियो ।
युरोपक छनोटअन्तर्गत् मंगलबार राति नै भएका अन्य खेलहरुमा बेलारुसले लक्जेम्वर्गलाई २–० ले हराउँदा स्पेनले मेसेडोनियालाई १–० ले पराजित गर्यो ।
यसैगरी, रुसले लिचेस्टेनलाई ७–० ले तथा स्लोभेनियाले इस्टोनियालाई १–० ले पराजित गरेका छन् ।