काठमाण्डौं, २४ भदौ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष के.पी. शर्मा ओली र एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त रुपमा पत्राचार गरी राष्ट्रिय प्रजातन्त्र पार्टीलाई संंविधान निर्माणको प्रकृयामा फर्कन आग्रह गर्नुभएको छ ।
तीन ठूला पार्टीका शीर्ष नेताद्वारा हस्ताक्षरित पत्रमा लामो समयदेखि नेपाली जनताले आफ्ना प्रतिनिधिहरुद्वारा संविधान निर्माण होस भनेर राखेको चाहना अनुरुप संविधान निर्माणको प्रकृया निर्णायक चरणमा पुगेको उल्लेख गर्दै भनिएको छ,“ संविधान निर्माणको यस ऐतिहासिक क्षणमा कुनै पनि राजनीतिक दल र सभासद्ले संविधान निर्माणको प्रकृयाबाट आफूलाई अलग राख्नु हामी कसैको लागि पनि सुखद् हुन सक्दैन ।”
पत्रमा संविधानका विषय बस्तुमा दलहरुका बीचमा मतभेद रहन सक्ने उल्लेख गर्दै भनिएको छ,“तर राष्ट्रियतालाई मजबूत बनाउने,जनतालाई लोकतान्त्रिक अधिकारले सम्पन्न बनाउने तथा जनताको आर्थिक सामाजिक विकास गर्ने लक्ष्यमा हामी सबै एक ठाँउमा उभिन सक्छौं ।” पत्रमा विगतका अनुभवहरुको समीक्षा गर्दै राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम गरी राष्ट्रहितको पक्षमा निरन्तर क्रियाशील रहनु सबैको साझा कर्तब्य भएको उल्लेख गरिएको छ ।